माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डद्वारा प्रतिवेदन पेस, भोलि पनि छलफल हुने

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । बिहीवारदेखि पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गरेका हुन् ।

अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा अध्यक्ष दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले)सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गरेको उनले बताए ।

उनले भने, ‘सरकार बन्नुभन्दा पहिले चुनावमा, चुनावको स्थिति, हाम्रो स्थिति, पार्टीको स्थिति अनि सरकार बन्ने बेलामा हामी गठबन्धन छोडेर अर्को सहमति गर्न पुग्यौँ । त्यो स्थिति । र अहिले सरकार कसरी चलिरहेको छ भन्नेमा उहाँले ब्रिफ गर्नुभयो ।’

बैठकले पार्टीको नेतृत्वमा सरकार बनेकोमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाललाई बधाई दिएको छ भने उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गरेको छ ।

त्यस्तै यति एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकाहरुप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको उपाध्यक्ष महराले जानकारी दिए । बैठकमा पार्टी एकता र संगठन बिस्तार बारेमा एजेण्डा रहेको र भोलि (शुक्रवार) बस्ने बैठकमा सो विषयमा छलफल हुने बताइएको छ ।
स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

कमेन्ट गर्नुहोस्