गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने पात्र खोज्नुपर्ने बताएका छन् । शनिबार गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अस्थिर राजनीतिक परिवेशमा देशको अभिभावकीय संस्थाको नेतृत्वमा राष्ट्रिय सहमति हुनु आवश्यक रहेको बताएका हुन् । उनले सकेसम्म सरकार निर्माण लगायत सबै विषयमा यो ५ वर्ष राष्ट्रिय सहमति गरेर जानु पर्नेमा जोड दिएका थिए ।
भट्टराईले देशको अभिभावकको रुपमा परिकल्पना गरिएको राष्ट्रपति चाहिँ सबैको सहमतिमा बनाऔं भन्ने बहस चलिरहेको र कुन व्यक्तित्वमा सहमति बन्छ अहिले भन्न नसकिने बताए । ‘राष्ट्रपतिमा तपाईँको चर्चा छ नि’ भन्ने पत्रकारको प्रश्नमा भट्टराईले भने,‘राष्ट्रिय सहमतिको निमित्त निरन्तर पैरवी गरेको छु, सायद त्यसैमा आधारित भएर शुभेच्छुकहरूले म पनि एउटा पात्र हुन सक्छु भनेर चर्चा चलाउनुभएको छ, म आफैले त्यसलाई त्यस्तै रूपमा बुझ्नु समयभन्दा अलि अघि हुन्छ जस्तो लाग्छ ।’ शासकीय स्वरुप र निर्वाचन प्रणली नबदलिएसम्म अस्थिरताको खतरा रहीरहेने हुँदा राष्ट्रिय सहमतिका लागि आफुले निरन्तर पैरवी गरेको उनले बताए ।
कतिपय शुभेच्छुकले आफुलाई पनि एउटा पात्रको रुपमा चर्चा चलाउनुभएकोले त्यसबारे बोल्नु समय भन्दा अगाडि हुने उनको भनाइ थियो ।
अहिले पनि राष्ट्रिय राजनीतिमा अन्योल र अस्थिरताको संकेत मिलिरहेको भन्दै भट्टराईले त्यसलाई स्थिरतातर्फ ल्याउन राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।
‘राष्ट्रिय राजनीतिका अहम् मुद्दामा सहमति गराएर जानु उपयुक्त हुन्छ, राष्ट्रपति जस्तो संस्थालाई चाहिँ धेरैभन्दा धेरै सहमति चाहिन्छ,’ उनले भने,‘सर्वसम्मत नहुन पनि सक्छ, अधिकतम सहमति हुने तवरले जानु उपयुक्त हुन्छ । कम्तीमा कांग्रेससहित एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका शक्तिहरूबीच राष्ट्रिय सहमति बन्छ ।’ राष्ट्रपतिजस्तो देशको एकताको प्रतीक संविधानको रक्षक, अभिभावकीय भूमिका दिएको संस्थाको नेतृत्वमा राष्ट्रिय सहमति भएन भने अस्थिर राजनीतिक परिवेशमा अलि प्रतिकुल असर पर्न सक्ने उनको भनाइ थियो ।