जब मन्त्री आफैले बोलाएर तपाईंहरूका समस्या यी हुन् हैन भनेर सोधे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बुधबार सर्जक तथा स्रष्टाहरूलाई आफ्नै कार्यकक्षमा बोलाए । र, सोधे– तपाईंहरूका समस्या के छन् ? तर, सर्जक तथा स्रस्टाहरूले आफ्ना समस्या राख्नु अगाडि मन्त्री आफैले यी–यी समस्या छन् होइन भन्दै सुनाए । मन्त्री किरातीले नेपाली सर्जक तथा स्रस्टाहरूले उठाउँदै आएको प्रतिलिपि अधिकारमा रहेका समस्याबारे आफै फलाफल बताए ।

मन्त्री आफैले खबर गरेर सर्जक तथा स्रस्टालाई बोलाएका थिए । अनि आफैले प्रतिलिपि अधिकारमा रहेका समस्याबारे बताएपछि त्यहाँ पुगेका गायक तथा संगीतकारहरू छक्क परे । “जब उहाँले सुरुमै आफै कपिराइटमा तपाईंहरूका समस्या यी–यी हुन् होइन भनेर भन्नु भयो हामी छक्क पर्यौं,” मन्त्रीसँगको उक्त भेटमा सहभागी संगीतकार संघका अध्यक्ष चेतन सापकोटा बाह्रखरीसँग भन्छन्, “उहाँ आफैले हामीलाई रजिष्टारमार्फत बोलाउनु भयो र हाम्रा समस्याबारे पूर्ण जानकारी राखेर हामीलाई सुनाउनु भयो ।”

विभागीय मन्त्रीले यसरी आफैँ चासो दिएर बोलाएको यो पहिलो पटक भएको चेतन बताउँछन् ।

“प्रतिलिपि अधिकारका विषयमा अर्को समूहले मन्त्री किरातीलाई पहिला नै भेटेर यो क्षेत्रको समस्याबारे बताएको रहेछ । त्यसपछि उहाँले हामीलाई बोलाउन लगाउनु भएको रहेछ,” चेतन अगाडि भन्छन्, “गाडी, सार्वजनिक स्थल, म्युजिक प्लेटफर्म, रेष्टुरा, मोबाइलप्रदायक संस्थाबाट कसरी रोयल्टी उठिरहेको छ र कसरी उठाउने, वितरणलाई कसरी प्रभावकारी र वैज्ञानिक बनाउन सकिन्छ उहाँले भन्नु भयो । उहाँ स्वयंंले अग्रसरता देखाएकाले अब प्रतिलिपि अधिकार कार्यान्वयन हुन्छ भन्नेमा हामी ढुक्क छौँ ।”

मन्त्रालयका सचिवसँग समन्वय गरेर अगाडि बढ्न आग्रह गर्दै उनले मन्त्रालयले चाँडै कानुन बनाएर प्रतिलिपि अधिकार सुरक्षित गर्दै कार्यान्वयन गर्ने मन्त्री किरातीले बताएको सापकोटाले जानकारी दिए ।

रोयल्टीमा गायक÷गायिका, गीतकार, संगीतकार, उत्पादक र प्रवद्र्धक कसको अधिकार हुन्छ यसबारे स्पष्ट कानुन बनाएर अगाडि बढ्न मन्त्रालय तयार रहेको मन्त्री किरातीले बताएको पनि उनले स्पष्ट पारे । “हाम्रा साथिहरूबीचमा रहेको विमतिबारे पनि उहाँलाई जानकारी रहेछ, त्यो बारे पनि उहाँले बताउनु भयो,” उनी भन्छन्, “यति गहिरो अध्ययन मन्त्रीज्यूले नै चासो राखेर सचिव र रजिष्टारलाई नै अगाडि राखेर समाधानको उपाय खोज्न आग्रह गरेपछि हामी समस्या समाधान हुने विश्वास पलाएको हो ।”

अन्य मन्त्रीहरूलाई आफ्नो समस्या र गुनासाबारे कुरा राख्न समय माग्दा पनि नदिने तर उनले आफैले अग्रसरता देखाउनु सकारात्मक भएको उनको भनाइ छ । “अहिलेसम्म प्रतिलिपि अधिकार ऐन छैन । बौद्धिक अधिकारबारे कसैलाई थाहा छैन । कार्यान्वयनका लागि गयो भने सरोकारवाला पक्षले उल्टै गीत सुन्न पनि पैसा पर्छ भनेर प्रश्न गर्छन्,” सापकोटा भन्छन्, “यस्तो समाजमा मन्त्रीज्यूलाई यसबारे सबै थाहा हुनु पनि ठूलो कुरा हो ।”

रोयल्टी संकलन र यसको वैज्ञानिक वितरणमा लामो समयदेखि नेपालमा समस्या रहँदै आएको छ । मन्त्री किरातीसँगको भेटमा सापकोटासँगै संगीतकार सुरेश अधिकारी, गायक सम्भु राईलगायत सर्जक तथा स्रस्टा सहभागी थिए ।

कमेन्ट गर्नुहोस्