काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मन्त्री पदका लागि हिरिक्क भएको टिप्पणी गरेका छन् ।
शनिबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले नैतिक मूल्य र मान्यताबारे प्रश्न गर्ने लामिछानेले स्वार्थ बाझिने मन्त्रालयमा हिरिक्क भइरहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली राजनीतिमा धेरै समय नटिक्ने समेत उनको भनाई थियो ।
‘उनीहरूले जनतामा छाप छाडे, परिणाम ल्याइहाले, तर, तिनीहरू धेरै टिक्दैनन् । अहिलेदखि नै सक्कियो । के नमुना, के आदर्श उनीहरूले देखाएका छन् ? के नैतिक मूल्य र मान्यताको बारेमा प्रश्न गरिरहेका छन्,’ उनले भने, ‘मन्त्री पदमा हिरिक्क हुने कुरा । आफ्नै स्वार्थसँग बाझिने मन्त्रालय प्राप्त गर्ने कुरा । कुन नैतिक मूल्य र मान्यताको कुरा वकालत गर्न सक्लान ? हामीसँग तथ्य प्रमाणका साथ हामी प्रस्तुत हन सक्ने हो भने त्यस्ता प्रवृत्तिलाई नाङ्नेझार पार्न सक्छौं ।’