माओवादी बैठक : संवैधानिक निकायमा सहमतिको प्रयास, विचार मिल्ने दलसँग सहकार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचन लगायत सबै संवैधानिक निकायका पदमा मिलेर जानका लागि सबै दलसँग छलफल गर्ने निर्णय गरेकाे छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै पार्टी सचिव देवेन्द्र पौडेलले राष्ट्रिय सहमतिका लागि अघि बढ्ने बताए।

‘राष्ट्रिय सहमति गरौं, मिलेर जाऔं, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ त्यसलाई सुधारौं भन्दा सबै पक्ष छलफलमा बस्नुहुन्छ,’ उनले भने।

संचारकर्मिहरुको प्रश्नमा सबै मिलेर जाउ भन्ने कुरालाई एमालेलाई बाहिर राख्न खोजेको भनेर बुझ्न नहुने उनले बताए । अहिले राष्ट्रिय सहमतिको प्रयास भइरहेको पौडेलले जानकारी दिए।

‘हामी नयाँ शिराबाट छलफल गर्छौं। एमालेलाई बाहिर राखेर केही गर्न खोजेकै छैनौं। एमाले कांग्रेससहित छलफल गर्न खोजेका हौं।’ उनले भने।

कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएकोले माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय लिएको पौडेलले बताए।

राष्ट्रिय सहमति नहुँदा विराज मिल्नेहरुसँग सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको पनि पौडेलले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्