काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले राजनीतिक भेटघाट गरेका छन्।
नेताहरूले आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक छलफल गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबिच गहन छलफल चलेको थियो। सो क्रममा तत्काल समाजवादी क्तिहरूबिच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको उनले जानकारी दिए ।
उनले भने ‘माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबिच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत हुनुभएको छ।’
भेटका क्रममा नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणाबारे चासो राखेका थिए । सो क्रममा प्रधानमन्त्रीले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै बन्दीहरू रिहाइका लागि सरकारको तर्फबाट पहल भइरहेको जानकारी दिए।
भेटमा प्रचण्डसँगै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी थिए ।
यसअघि माओवादी केन्द्रले विचार मिल्नेहरुसँग सहकार्य तथा एकताको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको थियो ।