काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको बताएकी छन् । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न पनि निजी क्षेत्रसँग आग्रह गरिन् ।
मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुनहरू निर्माणका लागि तत्काल संसदमा पेस गर्ने तयारी गरिरहेको उल्लेख गर्दै सुझाबको अपेक्षा राखेको बताइन् ।
उनले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढङ्गले अघि बढाउन नसकेको स्वीकार गर्दै त्यस काममा सम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोगको आवश्यकता औल्याइन् ।
मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई अघि बढाउन महत्त्वाकाङ्क्षी योजनाहरू अघि सार्ने योजना पनि सार्वजनिक गर्नुहुँदै भनिन्, ‘नेपाल सरकारले सूचना प्रविधिको क्षेत्रमा हामीले गर्नुपर्ने लगानी, हामीले गर्नुपर्ने सहयोग, हामीले गर्नुपर्ने कुराहरू के–के हुन्छन् भन्ने कुरामा पनि एउटा छलफल जरुरी छ भन्ने मलाई लागेको छ । हाम्रो क्यान महासङ्घकै तर्फबाट अघि अनौपचारिक रूपमा थोरै कुरा भएको छ । मन्त्रालयबाट हामीले यस क्षेत्रमा गर्न सक्ने सहयोगहरू के के हुन सक्छन् ? कमजोर अवस्था भएकाले धेरै सहयोग गर्न नसकौँला । तर पनि केही न केही त यस क्षेत्रमा गर्नुपर्ने हुन्छ ।
मन्त्री शर्माले यस क्षेत्रको विकासको निम्ति सूचना प्रविधि मन्त्रालयको मन्त्रीको हैसियतले सविस्तार अध्ययन गरेर सम्बन्धित कानुन संसदमा लैजाने, पारित गर्ने र यस क्षेत्रलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्री शर्माले भनिन्, ‘आजको दिनमा पनि हाम्रो आफ्नै स्याटलाइट छैन । हिजोको सरकारले हातहातमा मोबाइल, घरघरमा इन्टरनेट भन्दा त्यो नारा पनि सम्भव हुन्छ र भनेजस्तो हामीलाई लाग्दथ्यो । तर आज आएर त्यो सम्भव भयो । त्यस्तै महत्त्वाकाङ्क्षी नाराहरू अगाडि सारेर हामीले अगाडि बढ्न जरुरी छ भन्ने मलाई लाग्दछ । त्यसका निम्ति यहाँहरूको जुन अनुभव छ । त्यो हामीलाई पनि सहयोग गर्नु हुनेछ भन्ने मलाई लाग्दछ ।’
सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् ।
माघ २५ देखि २८ गतेसम्म हरेक दिन आइसिटी सेमिनार सञ्चालन गरिने पनि आयोजक क्यान महासङ्घले जनाएको छ । क्यान इन्फोटेकमा विभिन्न प्रविधिका वस्तु तथा सेवाको ब्रान्डिङ, प्रडक्ट लन्चिङ, विद्यार्थीका लागि आइटी करियर काउन्सिलिङलगायत कार्यक्रम समावेश गरिएको छ । यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई प्राथमिकतामा राखिएको र करिब साढे तीन लाखजनाले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।