काठमाडौं । सार्वजनिक यातायात मजदुरसम्बद्ध संगठनले बन्द, हड्ताल फिर्ता लिने घोषणा गरेका छन् ।
मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्ताका क्रममा मन्त्रालयले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि मजदुर संगठनका पदाधिकारीले यस्तो घोषणा गरेका हुन् । योसँगै आजै सार्वजनिक सवारीसाधन पुनः सञ्चालन गरिने भएको छ ।
मन्त्रालयका अधिकारीले तत्काल बन्द, हड्ताल रोकी सार्वजनिक यातायात सञ्चालन गर्न आग्रह गरेका थिए ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सर्वसाधारणका लागि सडकमा सहजीकरण गरेर वार्ताको निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका थिए । मन्त्री श्रेष्ठले जायज मागहरू सम्बोधन गरिने बताए । यातायात क्षेत्रको समस्यालाई आफूले गम्भीरतापूर्वक लिएको उनको भनाइ छ ।
सोमबार प्रदर्शनका क्रममा गोंगबु, नयाँ बसपार्क क्षेत्रमा तोडफोड र प्रहरीका गाडीमा आगजनी गरिएको थियो । त्यसपछि आज बिहान यातायात मजदुर, व्यवसायी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं महानगरपालिकाका अधिकारीबीच वार्ता भएको हो ।
पछिल्लो समय नयाँ बसपार्क र गोँगबु चोकबीचको सडक विस्तार हुने क्रममा छ । सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालन हुँदै आएका छन् । माइक्रोबस र केही बस नयाँ बसपार्क र गोँगबु चोकबीचको सडकबाट सञ्चालन हुँदै आएका छन् ।
त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी र मजदुर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका जनाइएको छ ।