पशुपतिमा भीड व्यवस्थापन गर्न सेनाले सहयोग गर्ने, ४ हजार स्वयंसेवक फिल्डमा

काठमाडौं । फागुन ६ गतेको महाशिवरात्रि पर्वको अवसरमा भीडलाई व्यवस्थापन गर्न ४ हजार जना स्वयंसेवक फिल्डमा खटिने भएका छन् । पशुपति क्षेत्र विकास कोषले बुधवार पत्रकार सम्मेलन गरेर नेपाल स्काउट लगायतका करिब ४००० सङ्ख्यामा स्वयंसेवकहरू परिचालन गरिने जानकारी दिएको हो ।

स्वयंसेवकहरु दर्शन लाइनको सहजीकरणका लागि कोर क्षेत्र बाहिर मात्र परिचालित हुने कोषको भनाइ छ ।

महाशिवरात्रि पर्वमा लाखौंको सङ्ख्यामा आउने दर्शनार्थी एवं भक्तजनहरूको सङ्ख्यालाई मध्यनजर राखी मन्दिर दर्शनको व्यवस्थालाई प्रभावकारी बनाउन विभिन्न विषयगत ८ वटा उपसमिति बनाएर तयारीलाई तीव्र बनाइएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गरिने उल्लेख गरिएको । भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मूल शिविर (कमान्ड पोष्ट) राखिनुका साथै मूल शिविरसँगै खोजखबर कक्षको व्यवस्थापन गरिने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै दर्शनमार्गलाई लक्षित गरी थप सिसि क्यामेराको जडान गरी निगरानी गरिने कोषले जनाएको छ ।

यसैगरी आवश्यकताअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कमान्ड पोष्ट एवं सव कमान्ड पोष्टहरुको स्थापना गरी विशेष सुरक्षाको प्रत्याभूति दिइने पनि कोषले जनाएको छ ।

दर्शनमार्गमा व्यारिकेड जडान लगायतको कार्यमा नेपाली सेनाको विशेष सहयोग रहने छ भने मन्दिर प्राङ्गणभित्र भीड व्यवस्थित गर्न पनि नेपाली सेनाकै सहयोग लिइने विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्