काठमाडौं । बुधबार सम्पन्न नेपाल भारत महिला राष्ट्रिय टोलीको फ्रेन्ड्ली म्याचमा दुवै टिमले बराबरी गोल गरेका छन् ।
फ्रेन्ड्ली म्याचको पहिलो खेलमा नेपाल र भारतबीच २ – २ गोलको बराबरी भएको हो । बुधबार राति ७ः४५ बजेबाट चेन्नइमा भएको खेलमा नेपाल २– ० ले पछि परेको थियो । तर अन्तिम समयमा नेपालले लगातार २ गोल गरेसँगै नतिजा बराबरीको अवस्थामा आएको हो ।
खेलको ५६औँ मिनेटमा भारतले गोल गर्दै अग्रता लिएको थियो । सौम्या गुगुलोथले पहिलो गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।
त्यस्तै ६८औं मिनेटमा भारतकी इन्दुमथी कासीरेथानले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएकी थिइन् ।
त्यस्तै खेलको ८८औं मिनेटमा नेपालले पेनाल्टीमार्फत पहिलो गोल गरेको थियो । स्विटी देवीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको हो । नेपालले पाएको पेनाल्टीलाई सावित्राले सदुपयोग गरेकी थिइन् । उनको पहिलो गोलले २ – १ को स्थितिमा आयो।
त्यसको लगत्तै अन्तिम समयमा सावित्राले नै अर्को दोस्रो गोल गर्दै भारतसँगको हारबाट नेपाललाई बचाएकी थिइन् ।
यसअघि पहिलो हाफमा पनि नेपालले गोलका लागि सुन्दर अवसरहरु प्राप्त गरेको थियो । तर गोलमा परिणत गर्न नसक्दा नेपाल पछि परेको थियो ।
नेपालले अब दोस्रो मैत्रीपूर्ण खेल शनिबार खेल्नेछ ।