कानुनका छिद्र देखाएर सेवाग्राहीलाई दुःख नदिन मन्त्री मोदीको निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग अन्तक्र्रिया गरेको छ ।

परिणाममुखी कामका लागि विभिन्न छलफलमा जुटिरहेएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले आज महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृतहरुले कार्यसम्पादनका क्रममा आफूहरुले भोगिरहेको कानुनी जटिलता लगायतका विषयमा धारणा राखेका थिए। त्यससँगै आआफ्नो पालिकामा सञ्चालन भइरहेको काम, प्राप्त उपलब्धि र अनुभव पनि उहाँहरुले आदानप्रदान गरे।

छलफलमा निर्देशनात्मक मन्तव्य राख्दै मन्त्री मोदीले सेवाग्राहीलाई प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न निर्देशन दिए । राष्ट्रसेवक कर्मचारीहरुले सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेको गुनासो बढिरहेको बताउदै मन्त्री मोदीले जनतालाई कसरी सहज र सरल ढंगबाट सेवा प्रदान गर्ने भन्नेतिर ध्यान दिन निर्देशन दिए ।

“कानुनका छिद्र देखाएर सेवाग्राहीहरुलाई राष्ट्रसेवक कर्मचारीहरुले अनावश्यक दुख दिने गरेको गुनासो सुनेको छु, प्रधानमन्त्रीज्युले पनि यो समस्या हटाउँछु भनेर संसदमा भन्नुभएको छ, उहाँको स्पिरिटलाई पनि हामीले समाउनुपर्ने हुन्छ” उनले भने, “कानुनका छिद्र देखाएर जनतालाई दुख दिने नियत नराख्नुहोला, कानुनसम्मत कामहरु प्रभावकारी ढंगले सम्पादन गर्न म निर्देश गर्न चाहन्छु ।”

 

अन्तक्र्रियामा प्राप्त समस्या र सुझावहरुलाई मन्त्रालयले कार्ययोजना बनाएर प्रभावकारी कार्यसम्पादनको वातावरण बनाउने पनि मन्त्री मोदीको भनाई थियो ।

छलफलमा मन्त्रालयका सचिव कृष्णहरी पुस्करले कानुनभन्दा बाहिर गएर कुनै पनि निर्णय नगर्न निर्देशन दिए ।

मन्त्रालय सम्हालेपछि मन्त्री मोदीले प्रधानमन्त्रीको निर्देशनअनुसार प्रशासन सुधारसँग सम्बन्धित रहेर विभिन्न छलफल र निर्णयहरु गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्