काठमाडौं । खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको उपचार जारी छ । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । भण्डारीका सहयोगी भुवन भुसालका अनुसार उनीहरू दुवैको अहिले कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ ।
भण्डारीको कम्मरदेखि तलको भाग जलेको छ । उनको करिब २५ प्रतिशत भाग जलेको छ ।
भण्डारीकी आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको छ । आमालाई बचाउने क्रममा भण्डारीको शरीरमा पनि आगो लागेको थियो ।
यसैबीच, स्रोतका अनुसार भण्डारी र उनकी आमा दुवैलाई थप उपचारका लागि भारत लैजाने विषयमा सल्लाह भइरहेको छ । चिकित्सकले थप उपचारका लागि भारत लैजान सुझाव दिए आजै उनीहरूलाई मुम्बई लगिनेछ ।
भुसालका अनुसार ग्यास लिक भएर सिलिन्डर विस्फोट भएको आशंका गरिएको छ । सुतिसकेपछि करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो ।
नेता चन्द्र भण्डारी र उनकी आमा सिलिण्डर विस्फोट हुँदा घाइते भएको खबर पाएपछि नेताहरु उनको स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुगेका छन् ।
कांग्रेस महामन्त्री गगन थापा र केन्द्रीय सदस्य प्रदीप पौडेललगायत र एमाले नेता प्रदीप ज्ञवाली लगायतका नेताहरू अस्पताल पुगेर सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
‘उहाँको अनुहार सुन्निएको छ। राम्रोसँग बोल्नुहुन्छ,’ सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि एमाले नेता ज्ञवालीले भने।