यस पटक पाठ्यपुस्तक अभावको गुनासो आए सम्बद्ध अधिकारीमाथि कारवाही हुने

काठमाडौं । पुस्तक छपाईको अनुगमन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्तरीय टोलीले पुस्तक अभावको गुनासो आए सम्बद्ध अधिकारीमाथि कारवाही हुने चेतावनी समेत दिएको छ । सो टोलीले आज जनक शिक्षा समग्री केन्द्रको स्थलगत अनुगमन गरी पाठ्यपुस्तक छपाइको अवस्थाका बारेमा जानकारी लिनुका साथै यो पटक गुनासो नआउने गरी पुस्तक छपाई र वितरण गर्न निर्देशन गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि जनक शिक्षा सामग्री केन्द्रले यस पटक समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यका साथ छपाइ कार्यलाई तीव्रता दिएको जनाएको छ ।आगामी चैत १५ गतेभित्र सबै पाठ्यपुस्तक छपाइ गरेर सम्बन्धित क्षेत्रमा पुर्‍याउने लक्ष्यका साथ दैनिक दुई सिफ्टमा पुस्तक छपाइ भइरहेको छ ।

केन्द्रले कक्षा ६ देखि १० सम्मको कूल एक करोड ५० लाख पाठ्यपुस्तक छाप्नुपर्नेछ । त्यसमध्ये हालसम्म ७९ लाख थान पुस्तक छपाइ भइसकेको छ । बाँकी रहेको पुस्तक आगामी चैत १५ भित्रै छापिइ सकिने छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्तरीय टोली, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव र सञ्चारकर्मीलगायतको टोलीले केन्द्रको छपाइको अवस्था, पाठ्यपुस्तकको गुणस्तरलगायतका विषयमा सूक्ष्म अध्ययन गरेको थियो ।

केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले यस पटक विद्यार्थीले पाठ्यपुस्तक पाएनन् भन्ने गुनासो सुन्नु नपर्ने गरी काम भइरहेको जानकारी दिए । उनले दैनिक दुई सिफ्टमा काम भइरहेको र आवश्यक कामदारदेखि सबै प्रक्रिया मिलाइएको बताए ।

“हरेक वर्ष विद्यार्थीले पुस्तक पाएनन् भनेर चौतर्फी गुनासो आउने गरेको थियो । यस पटक त्यो गुनासो नआउने गरी काम गरिरहेका छौँ । एक महिनाका लागि पुग्ने कागज मौज्दात छ । थप कागज आउने क्रममा छ । हामी युद्धस्तरमा काममा लागिपरेका छौँ”, उनले भने, “प्रधानमन्त्रीको निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्ने गरी काम भइरहेको छ ।”

कक्षा एकदेखि ५ सम्मको पाठ्यपुस्तक छपाइका लागि निजी क्षेत्रलाई जिम्मा दिइएको छ । त्यसका लागि १३ वटा प्रेस तथा छापाखानाको छनोट गरिएको छ । निजी क्षेत्रका छापाखानाले पनि यही फागुनको दोस्रो सातादेखि पुस्तक छाप्ने काम शुरु गर्नेछन् । निजी क्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिइएको भन्दै यसबीचमा आलोचना पनि भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्तरीय टोलीले हरेक दिन छापिएको पुस्तकको विवरण, वितरण केन्द्रमा पठाइएको विवरण तथा छाप्न बाँकी सबै विवरण हरेक दिन उपलब्ध गराउन केन्द्रका प्रबन्ध निर्देशक झालाई निर्देशन दिएको छ ।

एक जना विद्यार्थीले पनि आगामी शैक्षिक शत्रको सुरुआतमा पुस्तक पाइएन भनेर गुनासो गरेको खण्डमा केन्द्रका सम्बद्ध अधिकारीमाथि कारवाही हुने चेतावनीसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले दिएका छन् । प्रधानमन्त्री प्रचण्डले यसपटक पाठ्यपुस्तकको समस्या समयमै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै उनले सरकारका सबै सचिवलाई एकमुष्ठरूपमा जनताको दैनिक जीवसँग जोडिएका समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

केन्द्रले हरेक दिन एक लाख ६० हजार पुस्तक बाइन्डिङ गर्ने गरेको छ । त्यसलाई बढाएर दुई लाख बढी पु¥याउने लक्ष्य राखिएको छ । अन्य कक्षाका पुस्तक छापिने क्रममा रहे पनि कक्षा ८ को भने यस पटक पाठ्यपुस्तक परिवर्तन भएका कारण छपाइमा समस्या हुने हो कि भन्ने आशङ्का देखिएको छ । त्यस सम्बन्धमा पनि उच्चस्तरीय टोलीले चासो राखेको थियो ।

केन्द्रका प्रबन्ध निर्देशक झाले कुनै पनि गुनासो नआउने गरी छपाइ सम्पन्न गरी पुस्तक उपलब्ध गराउने प्रतिबद्धता जनाए । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्रधानमन्त्रीले नै मन्त्रालयसमेत सम्हाल्नुभएकाले उनको बढ्ता चासो रहेकाले कुनै पनि बहानामा पुस्तक छपाइमा तलमाथि गर्न नपाइने स्पष्ट निर्देशन दिए। उनले भने, “यसपटक कुनै पनि बहानाबाजी गर्न पाइने छैन । पुस्तक जस्तो सामान्य विषयमा पनि सधैँ समस्या देखिनु हुँदैन । कुनै पनि बहाना गरेर छुट पाइँदैन । छुट दिइँदैन ।”

हरेक वर्ष पुस्तकको विषय राष्ट्रिय महत्त्वको बन्ने गरेको छ । संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतले चासो राख्दै पुस्तक छपाइ र वितरणमा समस्या देखिएको बताउने गरेका थिए । यसपटक कुनै पनि निकायले प्रश्न उठाउन नसक्ने गरी काम भइरहेको केन्द्रले जनाएको छ ।

यद्यपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने पुस्तकको गुणस्तरमा समस्या रहेको, छपाइमा पनि समस्या देखिएकाले ती समस्या समाधान गर्न केन्द्रको ध्यानाकर्षण गराएको छ । सचिव सुवेदीले भने, “प्रधानमन्त्री प्रचण्डको यस विषयमा असाध्यै ठूलो चासो छ । हरेक दिनको विवरण उपलब्ध गराउनुहोला ।”

कमेन्ट गर्नुहोस्