काठमाडौं । देशको अर्थतन्त्र र बैङ्किङ क्षेत्रमा देखा परेका वर्तमान समस्याबारे काठमाडौं एक दिने कार्यशाला गोष्टि सुरु भएको छ ।
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) उपत्यका विशेष प्रदेशले नेपालको अर्थतन्त्र र बैङ्किङ क्षेत्रमा देखा परेका वर्तमान समस्याबारे एकदिने कार्यशाला गोष्टि आयोजना गरेको हो ।
अर्थतन्त्र र बैङ्किङ क्षेत्रमा देखा परेका वर्तमान समस्याबारे चार्टर्ड एकाउण्टेण्ट्सहरु संमिलित कार्यक्रम आयोजना गरिएको नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ उपत्यका विशेष प्रदेशका अध्यक्ष टिका कार्किले जानकारी दिए ।
राजधानीको नक्सालमा आयोजित कार्यशालाको उद्घाटन गर्दै आइक्यानका पूर्व अध्यक्ष एंव ग्लोबल आइएमी बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपालको जिडिपी र लोन बराबर जस्तै हुन पुगेको बताए । सरकारले पूँजीगत खर्च गर्न नसकेको र रेमिट्यान्स समेत बढ्न नसकेको अवस्थाले समेत तरलतामा चाप परेको उनको भनाई थियो । नेपाल जस्तो विकाशिल देशले बैङ्किङ पोलिसि बनाउँदा जियोपोलिटिक्सलाई ध्यान दिनुपर्ने धारणा उनले व्यक्त गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक किरण पण्डित, चार्टर्ड एकाउण्टेण्ट अरुण राउत, एनआरएन नेपाल विकास फण्डका कार्यकारी निर्देशक अनलराज भट्टराई र अर्थविद चौहान लगायतले प्रस्तुति दिदैं छन् ।
कार्यक्रमको सभापतित्व नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ उपत्यका विशेष प्रदेशका अध्यक्ष टिका कार्किले गरेका छन् ।कार्यक्रमको संचालन जगदिश प्रसाद गौतमले गरेका छन् । कार्यक्रममा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका उपाध्यक्ष सुशिल अधिकारी, पूर्व उपाध्यक्ष किरण शर्मा पौडेल लगायत काठमाडौंमा रहेका अधिकांश चार्टर्ड एकाउण्टेण्टहरुको सहभागीता रहेको छ ।