काठमाडौं । नेपालले आईससी विश्वकप क्रिकेट लिग–२ मा सानदार जित हासिल गरेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले लिग टू को विजेता बनिसकेको स्कटल्याण्डलाई ३ विकेटले हराएको हो ।
स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले अर्धशतकीय इनिङ खेलेका छन् ।
नेपालले मात्र ७७ रन जोड्दा ५ विकेट गुमाईसकेको थियो । तर, कुशल र दीपेन्द्रले नेपालको इनिङ उकास्न सफल हुनुका साथै नेपाललाई जित सम्म पुर्याएका छन् ।
नेपालका ओपनर कुशल भुर्तेलले ४ चौका सहित ८ बलमा १६ रन बनाए । अर्का ओपनर आसिफ शेखले १४ बलमा ९ रन बनाए ।
ज्ञानेन्द्र मल्ल ३ बलमा ४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेलले १० बलमा ६ रन बनाए । कप्तान रोहित आउट भए सँगै मैदान आएका कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८१ रन बनाए ।
एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यसपटक सर्वाधिक धेरै रन बनाउन सफल पनि भए ।
सन्दीप जोराले ५ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १ सय १६ बलमा अविजित ८५ रन बनाए । दीपेन्द्रको एकदिवसीय अन्तराष्ट्रियमा यो दोस्रो अर्धशतक हो । उनले एक शतक समेत प्रहार गरेका छन् ।
विश्वकप लिग टूमा भने दिपेन्द्रको पहिलो अर्धशतक हो । गुल्सन झाले १७ रन बनाउँदा सोमपाल कामीले ३२ बलमा अविजित २४ रन बनाए । छैटौं विकेटका लागि कुशलले दीपेन्द्रसँग मिलेर १ सय रनको साझेदारी गरेका थिए ।
दीपेन्द्र र सोमपालले आठौं विकेटका लागि अविजित ५५ रनको साझेदारी गरेका थिए ।
स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले समान ३र३ विकेट लिए । स्कटल्याण्डले १६ रन अतिरिक्त स्वरुप दिएको थियो ।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो ।
स्कटल्याण्डका लागि माईकल लिस्कले ८५ बलमा १ सय ७ रनको शतकीय ईनिङ खेले । उनले ३ चौका तथा ९ छक्का प्रहार गरे ।
उनले ७९ बलमा ३ चौका र ९ छक्काको सहयोगमा १ सय रन बनाएका थिए । एकदिवसीय अन्तराष्ट्रियमा उनको यो पहिलो शतक हो ।
नेपालविरुद्धको आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए ।
ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ तथा टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाए । कप्तान रिचि बेरिङ्गटनले समान १९र१९ रन बनाए । क्रिस ग्रेभले १६ रन बनाए ।
१ सय ११ रनमा छैटौं विकेट गुमाएको स्कटल्याण्डले २ सय ७४ रन ९ विकेट गुमाएर पूरा गर्यो ।
सातौं विकेटका लागि माईकल लिग्स र ज्याक जार्भिसले ८१ रनको साझेदारी गरेका थिए ।
नेपालका लागि स्पिनरहरुले ओभरमा रन दिदै विकेट लिएका थिए । चार जना स्पिनर प्रयोग गरेको नेपालका सबैजनाले कम्तिमा पनि १र१ विकेट लिएका थिए ।
सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए । कुशल मल्लले २ तथा सोमपाल कामी,दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १र१ विकेट लिए ।
स्कटल्याण्डसँगको पाँर्चौ एकदिवसीय खेलमा नेपालको यो दोस्रो जित हो ।
नेपालले फागुन ६ शनिबार नामिबियासँग खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।
सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग टूको च्याम्पियन भईसकेको छ ।