अन्तरसरकारी सञ्चारगृह हाजिरीजवाफ प्रतियोगितामा गोरखापत्र प्रथम

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)को ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरसरकारी सञ्चारगृहबीचको हाजिरीजवाफ प्रतियोगितामा गोरखापत्र संस्थान प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको संयोजनमा भएको प्रतियोगितामा गोरखापत्र संस्थानका कृष्णप्रसाद भण्डारी, विष्णुप्रसाद पाण्डेय र रुपचन्द्र भट्टको समूह प्रथम भएको हो । प्रतियोगितामा राससले दोस्रो स्थान हासिल गरेको छ । राससका रविन कार्की, ओमप्रकाश बोहोरा र सीता भट्टराई सहभागी भएका थिए ।

सो प्रतियोगितामा नेपाल टेलिभिजनका अर्जुनकुमार बटाला, गणेशबहादुर ढकाल क्षेत्री र मीरादेवी भण्डारी अधिकारी तेस्रो र रेडियो नेपालका मनीषा आचार्य, हरिप्रसाद पन्थी र सविता खनालले सान्त्वना स्थान प्राप्त सफल बने । प्रतियोगिताका विजयीलाई आगामी फागुन ७ गते आयोजना हुने राससको वार्षिकोत्सव समारोहमा पुरस्कार वितरण गरिने राससले जनाएको छ ।

राससका महाप्रबन्धक सिद्धराज राईले पहिलो प्रश्न सोधेर प्रतियोगिता सुरु भएको घोषणा गरेका थिए । उनले बौद्धिकताको उपयोग गर्दै सिर्जनशील क्षमता अभिवृद्धिका लागि यस्ता अतिरिक्त क्रियाकलापले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको संयोजन गर्दै राससका नायब महाप्रबन्धक सोमनाथ लामिछाने र राससका कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतले अन्तरसरकारी सञ्चारगृहबीच हार्दिकता कायम गर्दै सिर्जनशीलता उजागर गर्न प्रतियोगिता उपयोगी हुने भनाई राखे ।

महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाईँले सरकारी सञ्चारमाध्यमबीचको सम्बन्ध थप प्रगाढ होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। राससको वार्षिकोत्सवका अवसरमा योग, स्वस्थ जीवनशैली र तनाव व्यवस्थापनसम्बन्धी कार्यशालालगायत अतिरिक्त क्रियाकलाप समेत राखेको राससले जनाएको छ ।

कमेन्ट गर्नुहोस्