सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताएका छन् । आइतबार राष्ट्रिय समाचार समिति (रासस)को ६२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नागरिकको विचार अभिव्यक्तिको अधिकारको सम्मान गरिने बताए ।

सरकारको नागरिकको विचार अभिव्यक्ति प्रतिको मान्यतालाई राससजस्ता समाचार प्रदायक संस्थाहरूले पनि सम्मान र विस्तार गनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्रीले भने–‘जहाँ लोकतान्त्रिक शासन प्रणाली छ त्यहाँ मात्र प्रेस स्वतन्त्रता सम्भव छ । यो वास्तविकतालाई ध्यानमा राखी लोकतान्त्रिक प्रणालीको पक्षधरतामा मुलुकको प्रेस उभिँदै आएको छ र उभिनुपर्छ।’

राष्ट्रिय समाचार समिति (रासस)ले राज्यको एक आधिकारिक सूचना बैंकको रुपमा काम गर्न सक्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘प्रविधि र आफ्नो क्षमता विकास र विस्तारमा राससको ध्यान जानु आवश्यक छ। अहिले स्वदेशी तथा विदेशी सञ्चारमाध्यमलाई समाचार सेवा प्रदान गर्दै आएको छ । ६ दशकभन्दा पुरानो संस्था राससले राज्यको एक आधिकारिक सूचना बैंकको रुपमा काम गर्न सकोस्। प्रतिस्पर्धाको युगमा समय अनुसार आफूलाई अब्बल प्रमाणित गर्न सकोस्।’’

राससले टेलिभिजन र डिजिटल सेवा सुरु गरेकोमा प्रधानमन्त्री प्रचण्डले बधाई दिएका छन्। आजको विज्ञान तथा प्रविधिको युगमा सूचना र प्रविधिको विकासले सामाजिक जीवनका सम्पूर्ण आयामलाई समेटेको उनको भनाइ छ। राससले आफ्ना सेवालाई चुस्त दुरुस्त राख्ने क्षमता विकास गर्न सकोस् भन्ने शुभकामना प्रधानमन्त्री प्रचण्डले दिएका छन् ।

शुभकामना दिदै प्रधानमन्त्री प्रचण्डले भने, ‘‘विश्वमा सूचना प्रविधि प्रत्येक मान्छेको आवश्यकताको विषय मात्र नभएर अनिवार्य आवश्यक भएको छ। विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई हेरेर हामीले पनि अध्यावधिक र परिमार्जित हुनुपर्ने आवश्यकता छ। राससले जतिसक्दो चाँडो नागरिकलाई सूचना दिन नागरिकको सूचनाको हकलाई व्यवस्थित गर्न आफ्ना सेवालाई चुस्त दुरुस्त गर्न सकोस्।’’

 

कमेन्ट गर्नुहोस्