बिराटनगर, प्रदेश नं. १ का वन, वातावरण तथा पर्यटन मन्त्री जीवन आचार्यले फिल्डमैं गएर मन्त्रालयको कामको अनुगमन तीब्र पारेका छन् ।
मन्त्री भएलगत्तै उनले प्रदेश अन्तर्गत मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने सबै कार्यक्रमहरुको स्थलगत निरिक्षण गर्दै छलफललाई तीब्रता दिएका हुन ।
मन्त्रालयका तर्फबाट प्रारम्भिक जानकारी तथा छलफलपछि उनले बिभिन्न कार्यालयहरुको निरिक्षण गर्ने, हाल सम्झौता भएका र कार्यान्वयनमा रहेका योजनाहरुको स्थलगत निरिक्षणमा छन् ।
उनी ताप्लेजुंग, पॉचथर, तेह्रथुम, धनकुटा, उदयपुर, खोटॉग हुँदै भोजपुर पुगेका हुन ।
हाल सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमहरुको प्रगति विवरण तथा त्यसमा देखिएको समस्याहरुबारे छलफल गर्दै तिनीहरुलाई सकेसम्म छिटो सम्पन्न गर्ने र जनअपेक्षा अनुरुप भावी दिनमा सञ्चालन गर्नुपर्ने कार्यक्रमहरुका बारेमा छलफल गर्ने काममा उनी जुटेका हुन ।
“वन, वातावरण तथा पर्यटन अन्तर्गत सञ्चालन हुनसक्ने सम्भाव्य आयोजनाहरुको उनले सामाजिक सञ्जालमा लेखेका छनः रोजगारी र राजश्व आर्जनका उपायहरु साथै पर्यटनका वृहद् संभावना रहेका स्थानको खोजीका क्रममा अहिले हिमाली र पहाडी जिल्लामा छु।”
यसअघि मन्त्री पदको पदभार ग्रहण गरेलगत्तै मन्त्री आचार्यले प्रदेश १लाई नमुना र समृद्ध प्रदेश निर्माण गर्न र जनताको अपेक्षा अनुरुप पूर्ण सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
“मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत मैले पर्यावरणीय न्यायको प्रत्याभूति गर्न र वन संरक्षण संगै पर्यटनको घनिभूत विकासमार्फत रोजगारी सिर्जना गर्ने कुरालाई विशेष प्राथमिकतामा राख्नेछु । पर्यटनलाई जनतासँग जोड्ने योजना मैले अघि सार्नेछु । यसबारेमा मार्गचित्र सार्वजनिक गर्ने नै छु।” उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।
स्थलगत भ्रमण तथा छलफलपछि मन्त्रालयकाे भावी मार्गचित्र तथा कार्ययाेजना निर्माण गरी अघि बढने मन्त्री आचार्यले बताए । जिल्लागत भ्रमणका क्रममा तथा आयाेजनाहरुकाे निरीक्षणमा देखिएका चुनाैती तथा सम्भावनाहरुबारे जानकारी बटुलेपछि भविष्यमा द्रुत गतिमा कामहरु अघि बढने उनकाे विश्वास देखिन्छ ।