बारका पदाधिकारीसँग प्रधानमन्त्रीले भने – प्रधानन्यायधीश नियुक्तिबारे छलफल मार्फत छिट्टै निष्कर्षमा पुग्छौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको र यसलाई छलफल गरेर छिट्टै निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे सहितका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले न्यास सम्पादनको विषय गम्भीर भएको हुनाले चाँडै प्रधानन्याधीश नियुक्तिबारे छलफल गरेर निष्कर्षमा पुग्ने बताएका हुन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र उच्च अदालतमा न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर पर्ने कुरामा सरकारको ध्यान गएको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउने गरी सोचेको बारका पदाधिकारी समक्ष बताए । भेटमा नेपाल बारका अध्यक्ष घिमिरेले कायममुकायम (कामु) को भरमा न्यायालय चलेको एक वर्ष बितिसकेको हुनाले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने धारणा राखे ।

अघिल्लो वर्ष फागुन १ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएर निलम्बनमा परेपछि सर्वोच्चको नेतृत्व कामुको हातमा पुगेको थियो । सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद खाली छ ।

 

कमेन्ट गर्नुहोस्