काठमाडौं । आगलागीमा परी सिकिस्त भएका अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं.८ कोसेडीका दुइजना युवाहरूलाई प्रधानमन्त्री कार्यालयको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
गत फागुन ११ गते घरमा नै आगलागिमा परेपछि पञ्चदेवल बिनायक नपा वडा नं ८ कोसेडी निवासी वर्ष २१ का हिमराज रोका मगर र वर्ष १९ का पिरम रोकामगर गम्भीर घाइते भएका थिए । जिल्लामा उपचार सम्भव नभएपछि उनीहरुलाई सुर्खेत अस्पचालमा भर्ना गरिएको थियो ।
घाइतेमध्ये हिमराज रोका मगरको शरीरको ८० प्रतिशत भाग जलृको छ भने पिरम रोकामगरको ३६ प्रतिशत जलेको छ। सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपील गरेका थिए ।
प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरुलाई तत्काल अस्पताल पुर्याउन निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत निज पीडितहरुलाई काठमाडौं ल्याइएको हो ।