सञ्चार क्षेत्रमा नीतिगत परिवर्तन आवश्यक छ : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन तथा नीतिगत परिवर्तनको आवश्कता रहेको बताएकी छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)को कार्यालय निरीक्षण तथा भेटघाटका क्रममा उनले सो कुरा बताएकी हुन् ।

राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि सो अनुकूल पर्याप्त कानुन निर्माणमा ढिलाई भैरहेका कारण आफू कानुन निर्माणमा केन्द्रित भएको उनको भनाई थियो।

नेपाली समाज धेरै अगाडि बढे पनि कतिपय क्षेत्रमा पञ्चायतकालीन कानुन नै विद्यमान रहेकाले यसको परिवर्तन गर्न सरकार लागिपरेको उनले बताइन् ।

नेपालको परिवर्तन र जागरणमा रेडियोहरुको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै उनले अब सङ्ख्यामा भन्दा गुणस्तरीय सामग्री निर्माणमा जोड दिन आग्रह गरिन् ।

अहिले समाजमा पर्याप्त कानुनी चेतनाको अभावमा बहुविवाह, छुवाछुतजस्ता जघन्य अपराधहरु भइरहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमहरुले कानुन साक्षरतामा सहयोग पुने सामग्री निर्माणमा ध्यान दिनुपर्ने बताइन् ।

अकोराबका अध्यक्ष अर्जुन गिरीले सङ्घीय कानुन निर्माण गरी सामुदायिक रेडियोमा सहजीकरण गरिदिन आग्रह गरे। सो क्रममा मन्त्री शर्माले सामुदायिक सूचना नेटवर्क (सिआएन)को पनि निरीक्षण समेत गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्