काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) दुबैले आफू प्रमुख विपक्षी दल भएको दाबी गरेपछि आजको प्रतिनिधि सभा बैठक स्थगित भएको छ।
सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले आफूहरू स्वाभाविक प्रमुख प्रतिपक्षी रहेको एमालेको तर्क छ भने सरकारमा नजाँदासम्म आफुहरु प्रतिपक्षमै रहेको हुने नेपाली कांग्रेसको दाबी छ।
गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो। विश्वसको मत दिए पनि संसद सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिइसकेको छ।
सरकारमा रहेको एमालेले आफ्ना मन्त्रीलाई सोमबार फिर्ता बोलाइसकेको छ भने प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
स्रोतका अनुसार कांग्रेस र एमाले दुबैले आफूलाई प्रमुख प्रतिपक्षको दलको दाबी गरेका कारण आजको बैठक स्थगित भएको हो।
अर्को बैठक चैत ५ गते बस्ने संसद सचिवालयले जनाएको छ।फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।त्यसपछि मात्रै संसद बस्ने भएको हो ।