सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन्।
प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन्। कर्णाली प्रदेशमा राप्रपाको एक सिट छ। गठबन्धन दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।
कर्णाली प्रदेशमा पहिलो दल कांग्रेस हो भने माओवादी दोस्रो। कांग्रेसको १४ सिट, माओवादीको १३ सिट छ। माओवादीलाई कांग्रेसले समर्थन गरेमा माओवादीको सरकार सुरक्षित हुने देखिएको हो। ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सिट आवश्यक पर्छ।
यस्तै, नेकपा एकीकृत समाजवादीको १ सिट छ भने राप्रपाको १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्य रहेका छन्। सरकार बन्नका लागि माओवादी र कांग्रेसकै सुविधाजनक सिट रहेको छ।