काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आमसञ्चार माध्यमसम्बन्धी कानुन अघि बढाउन सकारात्मक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रेस काउन्सिल नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘मिडियामा महिलाका सवाल’ विषयक कार्यक्रममा सभामुख घिमिरेले आमसञ्चार माध्यमसम्बन्धी विधेयकलाई छिटो अघि बढाउन आफ्नो साथ रहने बताए ।
उनले आमसञ्चार माध्यमसँग सम्बन्धित विधेयकबारे सांसदहरूको ध्यानाकर्षण गराउन प्रेस काउन्सिल नेपाललाई सुझाए ।
सूचना प्रविधिको विकाससँगै यसले समाजमा पारिरहेका नकारात्मक असरलाई नियन्त्रण गर्न आवश्यक ऐन कानुन बन्न नसकेको उनको भनाई थियो । कानुनको अभाव तथा भएका केही कानुनहरूको पनि गलत ढंगले प्रयोग भइरहेको उनले बताए ।