काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु निर्वाचनका लागि त्रिविका आङ्गिक तथा केन्दीय क्याम्पसहरुमा उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता भएका छन् ।जस अन्तरर्गत नेपालकै पुरानो क्याम्पस त्रिचन्द्र बहुमुखी क्याम्पसमा सबैभन्दा बढि २४ वटा विद्यार्थी संगठन दर्ता भएका छन् ।
उपत्यकामा रहेका २१ आङ्गिक क्याम्पसमा सङ्गठन दर्ता भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार विद्यार्थी सङ्गठनले उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनका लागि सङ्गठन दर्ता गराएका हुन् ।
उनका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १९, पुल्चोक इन्जिनिरिङमा सात, नेपाल ल क्याम्पसमा १७, पद्म कन्या बहुमुखी क्याम्पस ११, शङ्करदेव क्याम्पसमा १२, त्रिचन्द्र बहुमुखी क्याम्पसमा २४, आरआर क्याम्पस १७, नेपाल कमर्स क्याम्पसमा १६ र अमृत साइन्स क्याम्पसमा १४ विद्यार्थी सङ्गठन दर्ता भएका छन् ।
निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ देखि अपराह्न २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म तोकिएको छ ।