काठमाडौं । रङ्गहरूको पर्व होली आज (सोमबार) काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा मनाइँदैछ ।
काठमाडौंको वसन्तपुर लगायत विभिन्न ठाउँमा होली विशेष कार्यक्रम चलिरहेको छ । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाइँदैछ ।यही फागुन १५ गते वसन्तपुरमा चीर ठड्याइएको थियो । वसन्तपुरमा चीर ठड्याइएपछि होली औपचारिक रूपमा सुरु भएको मानिन्छ ।
हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका परम् भक्त हिरण्यकश्यपुका छोरा (प्रह्लाद)लाई मार्न अग्निमा आसन गर्दा होलिका आँफै जलेर नष्ट भएको र असत्य माथि सत्यको जित भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ।
हिन्दू धर्म मान्नेहरूको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भब्य हुने गर्दछ । नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन(आज) होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराईमा होली मनाइन्छ ।
नेपालका सहरहरु काठमाडौं, पोखरा, धरान, भरतपुर, बिराटनगर, धनगढी लगायत ठाउँमा होलीको रौनक देखिएको छ ।