गोरखा । आगामी चैत ४ गते गोरखाको पालुङटारमा तेस्रो संस्करणको ‘लिगलिगे साइकल दौड’ हुने भएको छ ।
लिगलिगकोटको ऐतिहासिक, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई झल्काउँदै पर्यटन विकास गर्ने उद्धेश्यले ‘लिगलिगे साइकल दौड’ आयोजना हुँदै आएको आयोजक भिलेज स्पोर्टसले जानकारी गराएको छ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको लिगलिगकोटलाई खेलकुदको माध्यमबाट पर्यटनलाइ प्रवर्द्धन तथा प्रचार प्रसार गराउने उदेश्यले वर्षेनी दौड प्रतियोगित आयोजना गरिदै आएको लिगलिग भिलेज स्पोर्ट्सका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिए।
आयोजकले साइकल दौडको माध्यमबाट इतिहासमा मगर घले बंशका शासकले दौडेर राजा छान्ने पद्दती र नेपाल एकीकरणको जग बसाल्ने शाहवंशीय शासनको सुरूआत गरिएको लिगलिगकोटको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई साहसिक खेल पर्यटनको माध्यमबाट जोड्ने अपेक्षा गरेको छ।
नेपाल एकीकरण अघि लिगलिगकोटमा घले मगरहरू दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । त्यही बेलाको दौडेर राजा हुने परम्परालाई पछ्याउँदै अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन साइकल दौड गरिएको आयोजक लिगलिग भिलेज स्पोर्ट्सले जानकारी गराए।
लिगलिग भिलेज स्पोर्टसद्धारा आयोजित साइकल दौड प्रतियोगितामा सहभाहागी हुनेले लिगलिगकोटबाट शुरु भएर आँपपिपल भञ्ज्याङ, हर्मिभञ्ज्याङ, बयापानी, मकनडाँडा, थापागाउँ, आँपपिपल अस्पताल, पाथीभरा, गुन्टार, मिर्तिखोला, भण्डारथोक, ओख्ले, लमजुङ गरमवेशी, घर्तीगाउँ, ठूलो वगैचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, तालपोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्र्के, हात्तीगौडा, लुइटेल, बड्डाडा हुदै मैभलबाट लिगलिगकोटसम्मको ५३ किलोमिटर पार गर्नु पर्नेछ ।
प्रतियोगितामा पहिलो हुनेले नगद ७५ हजार, मेडल, प्रमाणपत्र, दोस्रो हुनेले नगद ५० हजार, मेडल र प्रमाणपत्र, तेस्रो हुनेले नगद ३० हजार, मेडल र प्रमाणपत्र, चौथो हुनेले नगद १५ हजार नगद, मेडल, प्रमाणपत्र र पाचौ हुनेले ७ हजार ५ सय रुपैया, मेडल र प्रमाणपत्र पाउने आयोजक लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगितामा एक सय भन्दा वढी खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । सो साइकल दौड प्रतियोगिता नेपालकै ठूलो प्रतियोगिता हुने लिगलिग भिलेज स्पोर्टसका निवर्तमान अध्यक्ष सञ्जिव रानाले बताए ।
प्रतियोगिताको प्रायोजक लागी पालुङटार नगरपालिका, गोरखा नगरपालिका, पर्यटन बोर्ड रहेको छ भने सहप्रायोजक गण्डकी प्रदेश, सिरानचोक गाउँपालिका, राइनास नगरपालिका लगायत रहेको आयोजकले जनाएको छ ।
दिउसो विविध साँस्कृतिक कार्यक्रम राखिएको छ । जस अन्तर्गत, लोकदोहोरी गीत प्रतियोगिता, बालन, चुटका, लाखेनाच, राष्ट्रिय चर्चित कलाकारहरुको बेजोड सांगेतिक प्रस्तुती रहने लिगलिग भिलेज स्पोर्टसका सचिव प्रमिला गुरुङ रानाले जानकारी दिइन ।