जनताको जीवनसँग जोडिएका मुद्दामा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

धादिङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले जनताको जीवनसँग जोडिएका मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएकी छन् ।

धादिङको गल्छी गाउँपालिका र धुनिवेशी नगरपालिकाका कार्यकर्ताहरुसँगको भेटमा उनले सो निर्देशन दिएकी हुन् ।

‘हामी सकारको नेतृत्व गरिरहेका छौं, बागमतिलगायत केही प्रदेशको पनि नेतृत्व गरेका छौं’– उनले भनिन्– ‘कयौं पालिका र वडा तहमा पनि हामीले नेतृत्व गरेका छौं, यो बेलामा जनताले हामीबाट धेरै आशा गरेका छन् ।’

पार्टी र सरकारसम्म जनताका आवाज पुर्याउने मुख्य भूमिका स्थानीयस्तरका नेता कार्यकर्ताको हुने भएकाले यो भूमिकालाई प्रभावकारीरुपमा अघि बढाउन नेता कार्यकर्ता निस्वार्थ र सेवा भावसहित लाग्नुपर्ने पनि उनले बताइन् । ‘हामी जनताकै जीवन परिवर्तनका लागि आफ्नो जीवनको समेत पर्वाह गरी राजनीतिमा लागेका छौं, हामीसँगैका कयौं साथीहरु सहिद हुनुभयो’– उनले भनिन्– ‘हामी जोजसले जे जिम्मेवारी पाएका छौं, सहिदका सपना र जनताको भावनालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।’

अहिले शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले यसैमा टेकेर नेतृत्व र पार्टीमाथि प्रहार गर्न थालिएको उल्लेख गर्दै उनले सरकारले जतिसक्दो चाँडो शान्ति प्रक्रियालाई पूर्णता दिने काममा सरकार लागेको बताइन्। पार्टी र नेतृत्वमाथि विभिन्न कोणबाट भइरहेका प्रहारबाट हतोत्साहित नहुनु कार्यकर्तालाई आग्रह गर्दै उनले पार्टी र नेतृत्व अझ मजबुत भएर अघि बढ्ने पनि बताइन् ।

सो क्रममा माओवादी केन्द्र धुनीवेशी गाउँपालिका समिति अध्यक्ष राजकुमार पाठक, गल्छी गाउँपालिका समिति अध्यक्ष रामशरण सिन्चुरीलगायतले पार्टी गतिबिधिबारे रिपोर्टिङ गर्दै धादिङमा पार्टीको अवस्था सुदृढ बन्दै गएको बताएका थिए ।

कमेन्ट गर्नुहोस्