काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नजिकिएसँगै कतिपय क्याम्पसमा विवाद देखिएको छ, जसका कारण निर्वाचन कार्यतालिकासमेत प्रभावित भएको छ ।त्रिविको आंगिक त्रिचन्द्र क्याम्पसमा दुई लाख रुपैयाँ एकमुस्ट बैंकमा जम्मा गरेर विद्यार्थी भर्ना गरेपछि विवाद देखिएको छ । विवादकै कारण निर्वाचन अधिकृतले राजीनामा दिएका छन् ।
स्रोतका अनुसार भर्नाको समय सकिनै लाग्दा नेविसंघमा आबद्ध व्यक्तिले क्युआर कोडमार्फत एकमुस्ट रकम जम्मा गरेका थिए । जसबाट ३१ विद्यार्थी भर्ना गर्न पाउनुपर्ने नेविसंघको माग छ भने अन्य संगठनले विरोध जनाएका छन् ।
विवादका कारण त्रिचन्द्रमा मतदाता नामावलीसमेत प्रकाशित हुन सकेको छैन । त्रिवि निर्देशिकामा विद्यार्थीको एकमुस्ट भर्नालाई मान्यता नदिने व्यवस्था छ । तर, त्रिचन्द्रमा एउटै भौचरबाट बैंकमा रकम तिरेर धेरै विद्यार्थीको भर्नाको लिस्ट बनाएका कारण विवाद चर्किएको हो ।
निर्देशिकाअनुसार एउटा विद्यार्थीले एउटा भौचर प्रयोग गरी भर्ना हुनुपर्दछ ।
सुनियोजित रुपमा स्ववियु निर्वाचनको मुखमा आएर मतदाता नामावली प्रकाशन गर्नुको साटो क्याम्पस चिफ सहायक क्याम्पस चिफलाई निमित्त दिएर बिदामा बसेको भन्दै अखिल(क्रान्तिकारी)ले विरोध जनाएको छ ।
निर्वाचन अधिकृतले मतदाता नामावलि सार्वजनिक गर्नुपर्ने दिन राजिनामा बुझाएपछि क्रान्तिकारीले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई क्याम्पस प्रवेश निषेध गरेको अध्यक्ष प्रदिप भण्डारीले जानकारी दिए ।
स्ववियु चुनाव नगराउने ठूलो षडयन्त्रको गन्ध पाएपछि प्रवेश निषेध गरिएको भन्दै मतदाता नामावली प्रकाशनको ग्यारेन्टी गरेमा प्रवेश निषेध हटाइने अर्का विद्यार्थी नेता अशोक भण्डारीले एभरेष्ट दैनिकलाई जानकारी दिए ।