दुर्गममा कर्मचारी जान नमान्ने समस्या छ : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीहरूले दुर्गम क्षेत्रमा गएर सेवा गर्न नचाहाने समस्या रहेको बताएका छन् । उनले संघीय निजामती सेवा ऐन अन्तिम चरणमा पुगेको भन्दै साही ऐन जारी भएपछि निजामती क्षेत्रका धेरैजसो समस्या समाधान हुने बताए ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोदीले निजामती सेवा ऐन नहुँदा स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न समस्या भइरहेको सुनाए ।


‘सबै कर्मचारी सुगम ठाउँमा मात्रै जान खोज्छन्, बढुवा गरेर दुर्गममा पठाउनुपर्ने अवस्था रहेछ,’ उनले भने, ‘म मन्त्रालयको जिम्मेवारीमा आउँदा २१४ वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत नै थिएनन्, अहिले धेरै जसो ठाउँमा पठाइसकेका छौँ । दुर्गममा पठाउँदा कर्मचारीलाई बढुवा गरेर पठाउनुपर्ने अवस्था छ ।’

मन्त्री मोदीले आफूले निजामती सेवा र मन्त्रालयलाई नै सुधार गरेर अघि बढ्न चाहेको बताए । ‘सरकारले निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ, अहिले अन्तिम चरणमा छ,’ उनले भने ।

मन्त्री मोदीले निजामती अस्पतालको सुधार र सातै प्रदेशमा अस्पताललाई विस्तार गर्ने योजना रहेको बताएका थिए ।

कमेन्ट गर्नुहोस्