राष्ट्रपतिको निर्वाचन सुरु, ७ बजेसम्म परिणाम आइसक्ने

काठमाडौं । राष्ट्रपति निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि मतदान सुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ ।

निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७२,राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५ सय ५० गरी ८ सय ८१ मतदाता रहेका छन्। संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक छ । संघीय संसद् सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सदस्यको ४८ छ । दुवै सभाको तत्काल कायम रहेका मतदाताको कुल मतभार भने ५२ हजार ६ सय २८ रहेको छ ।

निर्वाचनमा १४ वटा दलले सहभागिता जनाउँदै छन् भने राप्रपाले राष्ट्रपति निर्वाचनमा भाग नलिने घोषणा गरेको छ । राप्रपाका प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन् । उनीहरूको २ हजार ४ सय ५० मतभार राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ ।

तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ । कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा दोस्रो चरणमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ । त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी गरिएको छ ।

राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनबाट पूर्वसभामुखसमेत रहिसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा रहेको छ ।

 

कमेन्ट गर्नुहोस्