एकदिवसीय क्रिकेटमा आसिफको पहिलो शतक

काठमाडौं । नेपाली क्रिकेट टिमका ओपनर आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् ।

आसिफले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध शतक बनाएका हुन् । आसिफले १०१ बलमा १० चौका र दुई छक्का सहित पहिलो शतक पूरा गरेका हुन् ।

आसिफले एकदिवसीय क्रिकेटमा सात अर्धशतक प्रहार गरे पनि शतक बनाउनबाट भने चुकेका थिए ।

पीएनजीविरुद्ध ९० रन बनाएपछि उनी एकदिवसीय क्रिकेटमा नेपालबाट एक हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर बने । पीएनजीको खेलअघि उनले ९१० रन बनाएका थिए । आसिफ अघि नेपालका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा १००० रनको कोशेढुङ्गा पार गरेका थिए ।

यस्तै, आसिफ एकदिवसीय क्रिकेटमा शतक बनाउने पाँचौ नेपाली ब्याटर बने । आसिफअघि नेपालबाट पूर्वकप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।

कमेन्ट गर्नुहोस्