काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध २९८ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आसिफले आफ्नो करियरकै पहिलो अन्तर्राष्ट्रिय शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रनको लक्ष खडा गरेको हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि कीर्तिपुरमै नामिबियाले प्रस्तुत गरेको २८७ रनको लक्ष्य भेट्टाउनु नै नेपालले एकदिवसीय क्रिकेटमा बनाएको उच्च स्कोर थियो । यस्तै, पीएनजीविरुद्धको यो लक्ष्य एकदिवसीय क्रिकेटमा नेपालले पहिले ब्याटिङ गरेर खडा गरेको सबैभन्दा ठूलो योगफल पनि हो । नेपालले यसअघि २०२२ मा पीएनजीविरुद्ध नै २७८ रन बनाउनु नै पहिले ब्याटिङ गरेर उच्च योगफल खडा गरेको थियो ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आसिफले ११० बलमा १२ चौका र दुई छक्कासहित ११० रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो पहिलो शतक हो । यस्तै पीएनजविरुद्ध ९० रन बनाएसँगै आसिफले एकदिवसीय क्रिकेटमा एक हजार रन पनि पूरा गरे । आसिफ नेपालबाट एक हजार रन बनाउने दोस्रो ब्याटर बने । आसिफअघि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा एक हजार रन बनाएका थिए ।
आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ११० रनको साझेदारी गरे । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटका लागि नेपालले बनाएको दोस्रो उच्च साझेदारी हो । कुशल ५६ बलमा ६ चौकासहित ४५ रन बनाएर पभेलियन फर्किए । यसअघि आसिफ र कुशलले नै ओमानविरुद्ध २०२२ मा नेपाली टिमबाट पहिलो विकेटका लागि एकदिवसीय क्रिकेटकै उच्च ११४ रनको साझेदारी गरेका थिए ।
पीएनजीविरुद्ध भीम सार्कीले ४४ रन जोडे । कप्तान रोहितकुमार पौडेलले ३० रन थपे । आरिफ शेखले १५ रन जोड्दा सोमपाल कामी चार रनमा अविजित रहे ।
पीएनजीका सेमो कामेअले पाँच विकेट लिए । कामेअले ९.१ ओभरमा ३८ रनमात्र खर्चिए । रिले हेकुरेले तीन विकेट लिँदा एलेइ नाओले एक विकेट लिए ।
शृंखलामा नेपाल, पीएनजी र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् । लिग–२ को शीर्ष तीनमा रहन नेपाललाई शृंखलाका चारै खेल जित्नैपर्ने दबाब छ ।