रामचन्द्र पौडेल : सशस्त्र विद्रोहीकाे आरोपमा हिरासतदेखि राष्ट्रपतिसम्म

काठमाडौं । रामचन्द्र पौडेल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका छन्। पौडेलको पक्षमा पाँच सय ६६ मत पर्दा सुवास नेम्वाङको पक्षमा दुई सय ६० मत परेको छ। पौडेलको पक्षमा प्रदेशका तीन सय ५२ र संघका दुई सय १४ जनाले तथा नेम्वाङको पक्षमा प्रदेशका एक सय ६२ र संघका ९८ जनाले मत दिएका छन्। पाँच मत बदर भएको छ।

को हुन् रामचन्द्र पौडेल ?
वि.सं. २००१ असोज २९ गते तनहुँको व्यास नगरपालिका–८ (साविक मिर्लुङ बाहुनपोखरा)मा जन्मेका रामचन्द्र पौडेल वि.सं. २०१६ मा पोखरामा हिमालयन छात्र संघ स्थापना गरेर राजनीतिमा लागेका हुन्।

मध्यमवर्गीय किसान परिवारमा जन्मेका पौडेल संस्कृत साहित्यमा शास्त्री र नेपाली साहित्यमा स्नातकोत्तर हुन्। भरतपुर कब्जा गर्ने नेपाली कांग्रेसको सशस्त्र संघर्षमा संलग्न भएको आरोपमा वि.सं.२०१८ मा काठमाडौंबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासतमा बसेका थिए।

तनहुँबाट चारपटक प्रतिनिधिसभा सदस्य र दुईपटक संविधानसभा सदस्य निर्वाचित भएका उनी पाँचपटक मन्त्री भएका छन्। पौडेलले २०५१ को प्रतिनिधिसभामा सभामुखको भूमिकासमेत निर्वाह गरेका थिए।

उनी पहिलोपटक २०४८ जेठ देखि २०५१ सम्म स्थानीय विकासमन्त्री, २०४९ साउन देखि २०५१ सम्म कृषिमन्त्री, २०५६ मा एकसाथ उपप्रधानसहित सूचना(सञ्चार र स्थानीय विकासमन्त्री, २०५६/२०५८ उपप्रधान तथा गृहमन्त्री र २०६३/२०६४ शान्ति तथा पुनःनिर्माणमन्त्री भएका थिए। २०६१–२०६२ मा शान्ति समितिको संयोजक भएका पौडेल २०६४/२०७० सम्म नेपाली कांग्रेस संसदीय दलको नेता तथा प्रमुख प्रतिपक्षी दलको नेता चुनिएका थिए।

राजनीतिक संलग्नता
वि.सं.२०१६ मा पोखरामा हिमालयन छात्र संघ स्थापनामा संलग्न भएर पौडेलको राजनीतिक यात्रा सुरु भएको हो। वि।सं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले जननिर्वाचित संसद भंग गरी बिपी कोइरालालगायतलाई जेल हालेको विरोधमा भएको आन्दोलनमा सहभागी भएका थिए।

२०१९ सालमा नेपाल संस्कृत विद्यार्थी संघको सचिवको हैसियतमा उपत्यकामा भएको आन्दोलनका क्रममा गिरफ्तार भएका पौडेल ०२०/२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा गिरफ्तार भए।

२०२३ मा सरस्वती कलेजको स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित उनी २०२७ मा नेविसंघको संस्थापक सदस्य भएका थिए। २०३४ मा नेपाली कांग्रेस तनहुँको सदस्य भएर पार्टी राजनीतिमा प्रवेश गरेका पौडेल २०३६ मा जिल्ला उपसभापति चुनिए। २०४३ देखि निरन्तर केन्द्रीय सदस्य निर्वाचित उनी महामन्त्री (२०६२ / २०६४), केन्द्रीय उपसभापति (२०६४ / २०७२) हुँदै संसदीय दलको नेता (२०६४ /२०७०)भएका थिए।

२०७२ सालमा केन्द्रीय कार्यबाहक सभापति भएका पौडेलले पार्टीको १३औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

कमेन्ट गर्नुहोस्