पूर्वमाओवादी घटकहरूको बैठक बालुवाटारमा सुरु

काठमाडौं । तत्कालीन नेकपा माओवादी विभाजित भै बनेका तथा माओवादीको विचारसँग निकट राजनीतिक दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पूर्वमाओवादी धारका नेताहरुलेले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुनुपर्ने बताउदै आएका छन् । गएको मंगलबार पनि पूर्वमाओवादी घटकहरूको बैठक बसेको थियो ।

उक्त बैठकमा प्रचण्डले माओवादी धारका नेताको साथ खोजेका थिए । सर्वोच्च अदालतको आदेश आफूमा मात्र केन्द्रित नरहेको भन्दै उनले सबै नेता तथा दल एकजुट हुनु पर्ने बताएका थिए । प्रचण्डविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ ।

गत मंगलबार माओवादी धारका आठ दलका नेताहरूसँग छलफलका क्रममा उनले अदालतको आदेश शान्ति प्रक्रियासँग जोडिएको बताउँदै आफूहरू एक भएर जानुपर्ने धारणा राखेका थिए । उनले अदालतको आदेश शान्ति प्रक्रिया र माओवादी आन्दोलनसँग जोडिएको विषय भएको भन्दै सामूहिक चासो लिनुपर्नेमा जोड दिएका थिए ।

आठ दलका नेताले सर्वोच्चको भाषा व्यक्तिगतभन्दा पनि नीतिगत भएको निष्कर्ष निकालेका छन् । साथै अधिकांश नेताहरुले पूवृमाओवादी घटक दलहरु एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

उक्त बैठकमा सहभागी आठ दलका नेताहरूले संक्रमणकालीन न्यायका विषयमा आफूहरू एकजुट हुने प्रतिबद्धता जनाइसकेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, बिप्लव कृष्णबहादुर महरा, खड्गबहादुर विक ‘प्रकाण्ड’, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओली लगायतका नेताहरु सहभागी छन् ।

 

कमेन्ट गर्नुहोस्