स्ववियु निर्वाचन : उम्मेदवारी दर्ता आज, त्रि–चन्द्रमा नामावली प्रकाशनमै अन्यौल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि आज शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदै छ ।

समानुपातिक तर्फको नामावली दाखिला पनि आजै गर्नुपर्ने निर्वाचन कार्यतालिका रहेको छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

आजै साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम छ । स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले एउटा क्याम्पसबाहेक सबै आङ्गिक क्याम्पसले स्ववियु निर्वाचनमा सहभागी हुने विद्यार्थी सङ्ख्या र नामावली सार्वजनिक गरेर प्रक्रिया अगाडी बढेको बताए ।

उनका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पसबाहेक ६१ आङ्गिक क्याम्पसले स्ववियु निर्वाचनको कार्यतालिका अनुसार प्रक्रिया अगाडी बढाएका छन् । त्रिचन्द्र क्याम्पसमा अझै निर्वाचन प्रक्रिया सुरु हुन नसकेकाे उनले बताए ।

अन्य क्याम्पसमा मनोनयन हुने भएपनि त्रि–चन्द्र क्याम्पसमा भने फर्जी भर्ना र निर्वाचन प्रक्रिया अगाडी बढाउन नसकेर निर्वाचन अधिकृतले क्याम्पस छोडेको लगायतका विषयमा विद्यार्थी संगठनहरु आन्दोलित बनेका छन् भने निर्वाचन हुने नहुने अन्यौलता छाएको छ ।लामो समयदेखि त्रि–चन्द्रमा निर्वाचन हुन नसक्नु अस्वस्थ राजनीति कारक भएको विद्यार्थीहरु बताउछन् ।

कमेन्ट गर्नुहोस्