काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे सुरु भएको हो ।
बैठकले उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउने एक नेताले जानकारी दिए ।बैठकमा नेमकिपा सहितका ९ दल सहभागी छन् ।
जनता समाजवादी (जसपा) ले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउँदै गर्दा जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
उता नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।तर कानुनी व्यवस्थाका कारण उपराष्ट्रपति बन्न रन्जिताको उमेर बाधक बनेको छ । राष्टपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ मा राष्ट्रपति तथा उपराष्ट्रपति बन्नका लागि ४५ वर्ष उमेर पूरा गरेको हुनुपर्ने प्रावधान छ । आयोगमा उनले पेश गरेको विवरणमा भने उनको उमेर ३९ वर्षमात्र भएकोले उनी उम्मेदवार बन्न नसक्ने भएकी हुन् ।
सत्तारुढ गठबन्धनबाट उपराष्ट्रपति उम्मेदवारबारे बैठक बसी सर्वसम्मत उम्मेदवारको टुंगो लगाउन लागिएको हो।
उपराष्ट्रपति पदको निर्वाचनका लागि आज शनिबार नै मनोनयन दर्ता गर्ने कार्यतालिका छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ।
उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिइसकेको छ । आयोगका आयुक्तले फरक लिंगको हुनुपर्ने बताएका थिए भने जारी निर्देशनमा लिङ्ग वा समुदायभन्दा फरक हुने भनिएको छ ।
यो निर्णयले दलहरू अलमलमा परेका कारण पनि दलहरु बिहानै देखि परामर्शमा जुटेका हुन् ।यद्यपी दलहरुले संविधान र कानुनबमोजिम मनोनयन दर्ता गर्ने बताएका छन् ।