सप्तरीमा भीषण आगलागी : १६ घर जले, ५० लाख भन्दा बढीको क्षति

धनुषा । सप्तरीको तिरुहुत गाउँपालिका ५ स्थित लोहजरामा शुक्रबार भीषण आगलागी हुँदा ६ परिवारको १६ घर जलेर नष्ट भएको छ ।

आगलागीमा सत्यनारायण ठाकुरको ४ वटा, रामकिसुन मरैताको ४ वटा, हरिनारायण ठाकुरको ३ वटा, देवनारायण ठाकुरको २ वटा, उपेन्द्र ठाकुरको २ वटा र गोसाई अरगरियाको १ गरि १६ वटा घर जलेर नष्ट भएको स्थानीयले बताए ।

साँझ साढे ४ बजे रामकिसुन मरैताको घरबाट सल्केको आगलागी डेढ घण्टापछि नियन्त्रणमा आएको छ । राजविराज, हनुमाननगर, कंचनपुर र शम्भुनाथ नगरपालिकाबाट आएको ४ वटा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीमा मानवीय क्षती नभए पनि नगद, गरगहना, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा गरि ठूलो परिणाममा धनसम्पत्ती जलेर नष्ट भएको छ । आगलागीमा क्षतिको विवरण संकलन कार्य भईरहेकोले के–कति क्षति भएको भन्ने एकिन हुन सकेको छैन। आगलागीमा ५० लाख भन्दा बढीको धन सम्पत्ती जलेर नष्ट भएको हुन सक्ने स्थानीयको अनुमान छ ।

कमेन्ट गर्नुहोस्