काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उमेदवारी दर्ता गराएका छन् ।
उनलाई सत्ता गठबन्धनमा आबद्ध दलको समर्थन रहेको छ । गठबन्धका दलको प्रस्ताव र समर्थनमा उनले उमेदवारी दर्ता गराएका हुन् । प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन् ।
समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एस र जसपासहित चार दलको समर्थन रहेका उनलाई स्वतन्त्रका एक सांसदको पनि समर्थन रहेको छ ।
गठबन्धका दलको समर्थन रहेकाले उनले जित्ने पायः निश्चित रहेको छ । राष्ट्रपतिमा गठबन्धनका साझा उमेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।
यसअघि निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष उमेदवार निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा पनि पुरुष उमेदवारको उमेदवारी दर्ता नगर्ने बताए पनि अन्ततः पछि हट्दै यादवको उमेदवारी दर्ता गरेको हो ।
आज नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।
२८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । सोही दिन उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । २८ गते नै उमेदवारले नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको कार्यतालिकामा उल्लेख छ ।
चैत ३ गते मतदान हुनेछ । मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।