उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ ।निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने छ ।

उपराष्ट्रपति पदका लागि सत्ता साझेदार दलबाट ३ र नेकपा एमालेबाट एक गरी जम्मा चार जनाले उम्मेदवारी दिएका थिए ।

गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

रामसहायप्रसाद यादवको उम्मेदवारी खारेजीको माग गर्दै अष्टलक्ष्मी शाक्य र ममता झाले निर्वाचन आयोगमा उजुरी दिएका छन् । राष्ट्रपतिमा पुरुष उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार हुन नहुने उजुरीकर्ताको तर्क छ ।

ती उजुरीहरुमाथि जाँचबुझ गरी १२ बजेभित्र निर्णय गर्ने, नामावली फिर्ताको समय दिने र पाँच बजेभित्र अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्