काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् भने राष्ट्रपति विद्यादेवी भण्डारी सितल निवासबाट बिदाइ हुँदैछन्। दिउँसो १ बजे शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा पौडेलले शपथ ग्रहण गर्न लागेका हुन् ।
प्रधानन्यायाधीश नभएकाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।उनी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् । चुनावमा पौडेलले ३३ हजार ८०२ र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ ।
नेपालमा २०६२–६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी हुन् ।
लगातार दुई कार्यकाल पूरा गरेकी राष्ट्रपति बनेकी भण्डारी आज शीतलनिवासबाट बूढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् । कार्यकालको अन्तिम दिन भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनीतिक दलका शीर्ष नेताहरुले शीतलनिवासमा भेटघाट गरेका थिए ।