रामचन्द्र पौडेलद्वारा राष्ट्रपति पदको शपथग्रहण, बिदा भइन् निवर्तमान राष्ट्रपति भण्डारी(तस्बिर)

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

सोमबार दिउँसो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।

यही फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति निर्वाचित भएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शपथग्रहण गरेलगत्तै शपथ पत्रमा हस्ताक्षर गरे ।

त्यसपछि उनलाई नेपाली सेनाले राष्ट्रपति सलामी अर्पण गरेको थियो । राष्ट्रपति सलामी सैनिक मञ्च टुँडिखेलबाट गरिएको थियो ।

त्यसको लगत्तै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पौडेललाई बधाइ तथा सफलताको शुभकामना दिइन् ।

साथै, कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उपहार दिएर बिदाइ गरे ।नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै भण्डारीको बिदाइ गरिएको हो। भण्डारीलाई नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले उपहारसहित बिदा गरेका हुन् ।

 

तस्बिर: प्रदीपराज वन्त (प्रधानमन्त्री सचिवालय)

 

कमेन्ट गर्नुहोस्