त्रिचन्द्रमा नेविसंघद्धारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड(तस्बिर)

काठमाडौं। त्रिचन्द्र क्याम्पसमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुख प्राध्यापक डाक्टर सुनिल अधिकारीको कार्यकक्ष तोडफोड गरेको छ ।

निर्वाचनको मतदाता नामावलि सार्वजनिक गर्न माग गर्दै नेविसंघले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गर्नुका साथै क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरुको  कुर्सी चौरमा ल्याएर नाम र नारा लेखेर प्रदर्शन गरेको छ ।

बाहिर ल्याएर राखिएको कुर्सीमा चुनाव गराउन नसक्ने क्याम्पस प्रशासन राजीनामा दे, निर्वाचन अधिकृत खोइ, क्याम्पस प्रमुख हराएको सूचनालगायतका पोस्टर टाँसिएको छ ।

नेविसंघले निर्वाचन आंचारसंहिता लागु भैसकेपछि क्युआर कोडमार्फत एकमुष्ट रकम क्याम्पसको खातामा राखि फर्जी भर्ना गरेको भन्दै नेविसंघ बाहेकका विद्यार्थी संगठनले उक्त भर्ना खारेज हुनुपर्ने माग राखेका थिए ।

पछि भर्ना भएका बाहेका विद्यार्थीको नामावली हुनुपर्ने माग ती विद्यार्थी संगठनहरुको छ भने आफुहरुले पछि भर्ना गरेका विद्यार्थीको नाम समेटेर नामावली प्रकाशन गर्नुपर्ने नेविसंघले अडान राख्दै आएको छ ।

मतदाता नामावली प्रकाशनमा विवाद देखिएपछि निर्वाचन अधिकृतले राजिनामा दिएका छन् भने क्याम्पस प्रमुख क्याम्पस आउन छोडेका छन् ।

उता विद्यार्थी संगठनहरु भने नयाँ निर्वाचन कार्यतालिका र मतदाता नामावली सार्वजनिक गर्न माग गर्दै दिनहुँ आन्दोलन गरिहेका छन् ।

स्ववियु निर्वाचन चैत ५ गतेलाई तोकिएको छ। तर, त्रिचन्द्र क्याम्पससमा अहिलेसम्म मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयन लगायतका निर्वाचन प्रक्रिया नै अगाडी बढ्न सकेको छैन।

निर्वाचन प्रक्रिया र कार्यकक्ष तोडफोडबारे बुझ्न खोज्दा क्याम्पस प्रमुख अधिकारीको फोन उठेन ।

कमेन्ट गर्नुहोस्