चीनको प्रभाव कम गर्न परमाणु पनडुब्बीकाे परियोजनामा अमेरिका, यूके र अस्ट्रेलिया,चीन र रुसको विरोध

एजेन्सी । अमेरिका, ब्रिटेन र अस्ट्रेलिया इन्डो–प्यासिफिक क्षेत्रमा चीनको प्रभावलाई रोक्ने रणनितिमा एकमत भएका छन् । ती देशको हालै बसेको बैठकले चीनको प्रभाव कम गर्न परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीको नयाँ फ्लीट बनाउने सामुहिक योजना सार्वजनिक गरेको छ।

ओकस सम्झौताअन्तर्गत अस्ट्रेलियायाले आफ्नो पहिलो परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बीका रूपमा अमेरिकाबाट कम्तीमा तीनवटा त्यस्ता पनडुब्बी प्राप्त गर्ने बिबिसिले जनाएको छ ।

ती साझेदारहरूले यूकेमा निर्मित रोल्स–रोय रिएक्टरसहित अत्याधुनिक प्रविधि प्रयोग गरेर नयाँ पनडुब्बीहरू बनाउन पनि काम गर्नेछन्।

तीनवटै देशले इन्डो–प्यासिफिक क्षेत्रको शान्ति र स्थायित्वका लागि उक्त सम्झौता गरेको दाबी गरेका छन्।

चीन र रुसको कडा विरोध

उक्त रक्षा साझेदारीलाई चीन र रुसले कडा रूपमा निन्दा गरेका छन्।

रुसले परमाणु उर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी सम्झौताले एशियामा वर्षौंका लागि मुठभेड निम्त्याउने चेतावनी दिएको छ।

उक्त महत्त्वपूर्ण नौसेना सम्झौताको बेइजिङले पनि कडा शब्दमा आलोचना गरेको छ।

चिनियाँ विदेश मन्त्रालयले मङ्गलवार उक्त सम्झौताका साझेदार तीन राष्ट्रलाई ‘गल्ती र खतराको बाटोमा अझ अगाडि बढिरहेको’ आरोप लगाएको छ।

संयुक्त राष्ट्र सङ्घका लागि चिनियाँ नियोगका प्रमुखले पनि त्यसअघि ती पश्चिमी साझेदारहरूले परमाणु अप्रसार प्रयासलाई पछि धकेलेको आरोप लगाएका थिए।

संयुक्त राष्ट्रसङ्घको परमाणु निगरानी गर्ने निकाय आईएईएले उक्त परियोजनाबाट परमाणु प्रसारको खतरा नरहने प्रत्याभूति गराउनुपर्ने जनाएको छ।

कमेन्ट गर्नुहोस्