नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रधानमन्त्रीसहित शीर्ष नेताको बधाई

काठमाडौं। नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताले बधाई दिएका छन् । शुक्रबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा निर्वाचित भएका यादवलाई नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पुगेर प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका यादवलाई प्रधानमन्त्रीसँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बधाई दिएका छन् ।

उपराष्ट्रपतिमा निर्वाचित यादवलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र प्रदान गरे पस्चात प्रधानमन्त्रीसहित शीर्ष नेताले बधाई दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका नेता र निर्वाचन आयोगका निर्वाचन आयुक्तले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिएका हुन् ।

शुक्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव विजयी भएका हुन्। उनले संघीय सांसद १८४ र प्रदेश सभाका ३२९ को मत प्राप्त गरे। एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेश सभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार रह्यो भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २ हजार ५३७ मतभार प्राप्त गरे। यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मतसहित ४८ मतभार पाएका थिए।

कमेन्ट गर्नुहोस्