आइतबार हुने स्ववियु निर्वाचनको सबै तयारी पूरा, चार क्याम्पसमा विद्युतीय मतदान हुने

काठमाडौं । यहि चैत ५ गते आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सबै तयारी पूरा भएको त्रिभुवन विश्व विद्यालयले जनाएको छ ।

निर्वाचनका लागि शुक्रबारदेखि मौन अवधि समेत सुरु भएको हो । मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल समेत लैजानका लागि निषेध गरिएको छ । निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो । करिब १४ वर्षपछि त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो ।

अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने भएका छन् । २ सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, २ सय १ देखि १ हजारसम्म विद्यार्थी भएमा १३ जनाको कार्यसमिति, १ हजार १ देखि ३ हजारसम्म विद्यार्थी भएमा १९ जनाको कार्यसमिति र ३ हजार १ देखि ५ हजारसम्म विद्यार्थी भएमा २१ सदस्यीय कार्यसमिति हुने भएको छ ।

त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानमा विद्युतीय मेसिन प्रयोग गरी मतदान हुने भएको छ । ती क्याम्पसमा तत्काल नतिजा सार्वजनिक हुने छ ।

केही क्याम्पसमा निर्वाचन अघि नै स्ववियु गठन भएको छ। क्याम्पसमा रहेका विद्यार्थी संगठनहरुबीचको सहमतिमा सभापतिदेखि सदस्यसम्मका पदमा भागबन्डा गरी निर्विरोध नेतृत्व चयन गरिएको छ ।

केही क्याम्पसमा विवादका कारण निर्वाचनको प्रक्रिया अघि बढ्न सकेको छैन।

कमेन्ट गर्नुहोस्