काठमाडौं । मलेसियामा अलपत्र परेका ५६ नेपाली श्रमिकको उद्धारका लागि सरकारले पहल गरेको छ । मलेशियास्थित नेपाली दूतावास र सम्बन्धित म्यानपावर कम्पनीसँग सम्पर्क गरी उद्धारको पहल सुरु गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एक लाख तलबको आश्वासनमा मलेसिया पठाएका ५६ नेपाली अढाई महिनादेखि अलपत्र परेको समाचार सार्वजनिक भएपछि सरकारले उद्धारको पहल थालेको हो। नेपाली श्रमिकहरूलाई मलेशिया पठाएको भण्डारी ओभरसिजका प्रोपाइटर मलेशिया पुगेकाले उनका साझेदार प्रतिनिधिसँग आइतबार वैदेशिक रोजगार विभागमा बैठक बस्ने तय भएको बताइएको छ ।
प्रधानमन्त्रीका स्वकीय सहसचिव गोकर्ण भट्टका अनुसार प्रारम्भिक कुराकानीमा ओभरसिजले अलपत्र नेपाली कामदार फर्काउन तयार रहेको जनाएको छ ।
‘यस विषयका अन्य प्रक्रियाबारे आइतबारको बैठकमा थप छलफल गरी टुंगोमा पुगिनेछ । आशा गरौं, तत्काल नै हामी श्रमिकहरुको समस्या समाधान गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउन सफल हुनेछौं,’ भट्टले फेसबुकमार्फत् जानकारी दिएका छन् ।