‘हामी चेत भएका युवा शक्ति हौं, कसैको दास होइनौं’

आशिका लम्साल , विराटनगर स्थित महेन्द्र मोरंङ क्याम्पस विराटनगरबाट पत्रकारितामा स्नातक गरेर जनप्रशासन अध्यरत छिन् । आशिका जुझारु मात्र नभएर प्रस्ट सचेत चेत भएकी निडर र सक्रृय बिद्यार्थी हुन् । कक्षा ११ देखी नै पत्रकारिता पढेकी उनी बिद्यार्थी हक हितका लागि नेतृत्ब गर्न अग्रसर भएकी छन् । निम्न मध्यमबर्गीय परिवारमा जन्मिएकी आशिका कक्षा १ देखी नै सामुदायिक बिद्यालयमा पढेर उच्च शिक्षासम्म आइपुगेकी हुन् । यही ५ चैतमा सम्पन्न हुने स्ववियु निर्वाचनमा उनी विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थीको संयुक्त प्यानलबाट सचिव पदको उम्मेदवार छिन् । आफनो लगनशिलता, प्रस्ट वाकपटुता अनि निडर र अध्यनशिल स्वभावले गर्दा उनी सर्वत्र चर्चामा छिन् । प्रस्तुत छ सचिव पदकी उम्मेदवार आशिकासँगको कुराकानी ।

पत्रकारितामा स्नताक गरेर सक्रृय पत्रकारिता गर्नुपर्ने तँपाई एकाएक नेता बन्ने यात्रामा किन लाग्नु भएको ?

हो, मैले कक्षा ११ देखी नै पत्रकारिता पढे र गरें पनि । प्रदेशका मात्र नभएर काठमाण्डौका मिडियाहरुमा पनि मेरा समाचार फिचर छापिए । मैले पत्रकारितामा पढाई पुरा गर्ने मात्र हैन नेपाल प्रेस ईन्र्यस्टिच्युट, पत्रकार महासंघ, खोजपत्रकारिता केन्द्रबाट पनि विभिन्न तालिमहरु लिएँ । पत्रकारितामै मास्टर्स गर्ने धोको पनि थियो । तर कोशी प्रदेशमा पत्रकारितामा डिग्री पढाउने कलेज नै थिएन । हाम्रो क्षमताले काठमाण्डौ जाने समथ्र्य पनि थिएन । यसैले मैले यूटर्न गरेर पढदै गरेको महेन्द्र मोरङ क्याम्पसमै एमपिएमा भर्ना गराएँ । म सुरुदेखि नै बिद्यार्थी हकहितमा केही गर्नुपर्छ भन्ने पक्षमा थिएँ । स्ववियु निर्वाचन घोषणा भएपछि मैले पनि बिद्यार्थी हकहितमा केही गर्ने अवसर सदुपयोग गर्नुपर्छ भनेर सचिवमा उम्मेदवारी दिएको हुँ । म नेता हैन बिद्यार्थीको सेवक बन्न चाहन्छु । र, व्यवहारबाट प्रमाणित पनि गरेर देखाउने छु । नेता बन्ने यात्रामा हिडिरहनुपर्छ भन्ने पुरानो सोच मेरो फिटिक्कै छैन ।

तपाईंको नेतृत्वमा आउने पूर्व पृष्ठिभुमि खुलाइदिनुहुन्छ ?

म बिद्यालय तहदेखी नै स्काउटमा सक्रृय थिएँ । स्काउटका हरेक गतिबिधिमा म सधै दत्तचित्त भएर लाग्थे र अहिले पनि लागिरेको छु । देशबिदेशका कार्यक्रमहरुमा सहभागीता जनाएँ । हाल म स्काउटको प्रशिक्षक पनि भैसकेको छु । यसैले मेरो आत्मबल सधै उच्च हुनेगर्छ । म जिम्मा लिएको काम जसरी पनि पुरा गरेरै छाड्छु । क्याम्पसमा पढन आएपछि यहाँको बेथिति देखर म चुपलागेर बस्न सकिन । यसैले आफनो बर्गीय पक्षधरता अनुसार म अनेरास्ववियु अखिल क्रान्तिकारीमा आवद्ध भएँ । संगठन गर्न सक्रृय भएँ । जसले मलाई बिद्यार्र्थी हकहितमा लाग्न थप उर्जा दियो । र, मैले स्ववियुको नेतृत्वका लागि पनि योग्य ठानें । मलाई संगठनले पनि अवसर प्रदान गर्यो ।

तपाईंले अखिल क्रान्तिकारीबाट उम्मेदवारी दिनुभएको छ । तर नेविसंघ, अनेरास्ववियु , अनेरास्ववियु, एस, जनतमत पार्टी सबैले सचिव पदमा उम्मेदवारी दिएका छन् । यस्तो कडा प्रतिस्पर्धामा तपाईं विजयी हुने आधार के छ ?

बिद्यार्थीहरुको हकहितमा निरन्तर, निस्वार्थ, दत्तचित्त भएर लागिपर्नु मै मेरो जीतको मूल आधार हो । अर्कोतिर मेरो सबैसँग समन्वय गरेर चल्ने स्वभाव भएकोले मलाई सबैले मनपराउनुहुन्छ । मलाई मात्र हैन हाम्रो टिम कुरामा हैन काममा विश्वास गर्छ । यसैले अरु प्रतिस्पर्धीहरुसँग म र मेरो टिमको तुलना हुन सक्दैन ।

अर्को मैले सबैलाई समन्वय गरेर अगाडी बढेको र छात्राहरुको साझा समस्यालाई मुख्य एजेण्डा बनाएको छु । खस आर्यहरु मात्र नभएर मधेशी, आदिबासी जनजाति, दलित र सिमान्तकृत बिद्यार्थीहरुको समस्यालाई नजिकबाट देखेकी भोगेकी छु । यसैले म भुक्त्तभोगी भएकोले पनि सबैको नजरमा छु । यसबाहेक हाम्रो संगठनले तय गरेका प्रतिबद्धताहरु पनि जितका मुख्य आधार हुन् ।

तपाईंको संगठन अखिल क्रान्तिकारी र जनता समाजबादी बिद्यार्थीको एकता भएको छ । यो एकता कत्तिको बलियो छ ? अन्य मधेशी बिद्यार्थी संगठन पनि प्रतिस्पर्धामा छन् नि ?

हाल सबैभन्दा बलियो एकता नै हाम्रो हो । हामी प्रतिबद्ध छौं । हाम्रो संगठनका अध्यक्ष, म अनि अन्य पदाधिकारी र सदस्यहरु सबै जुझारु छौं । कहिल्यै बिबादमा आएका छैनौं । सधै बिद्यार्थी हकहितमै दत्तचित्त भएर लागिपरेका छौं । पारदर्शीता हाम्रो मूल मन्त्र हो । यसैले अन्य संगठनहरुसँग हाम्रो तुलनै हुनसक्दैन । अव चुनावमा प्रतिस्पर्धा गर्न आउनु त सबैको लोकतान्त्रिक अधिकार हो नि ।

तपाईंको प्रेरणाको स्रोत के हो ?
मेरो प्रेरणाको स्रोत मेरा बाबा र मम्मी अनि मेरा अग्रज गुरु र आर्दश नेताहरु हुनुहुन्छुहुन्छ । जसलाई नजिकबाट भोगेर, पढेर, बुझेर अनि सुनेर मैले आफनो बर्गीय विचारलाई प्रस्ट बनाउन सकें । पढाईसँगै सगठनमा आवद्ध भएर आफनो नेतृत्वमा निखार ल्याउने अवसर पाएँ । र, बिद्यालयदेखि नै स्काउट र संगठनमा आवद्ध भएर बिद्यार्थी हकहितमा लागिपर्न पाएँ ।

जीतको सम्भावना कति देख्नुहुन्छ ?
असंभव भन्ने कुरा मुर्खहरुको डायरीमा मात्र हुन्छ । यसैले म अकल्पनिय कुरामा बिश्वास नै गर्दिन र कल्पना पनि गर्दिन । किनकी हाम्रो संगठनको जीत सतप्रतिशत सुनिश्चित छ । हाम्रो जीत नै परिवर्तनकारी बिद्यार्थीहरुको जीत हो । महिला, मधेशी, दलित, आदिवासी जनजाति र अन्य सिमान्तकृत बिद्यार्थीहरुको जीत हो । यो विषय आम विद्यार्थी जमातले बुझ्नुभएको छ ।

परिणाम सुखद् आएन भने चाँही के गर्नुहुन्छ ?
हार मान्नेहरुले कहिल्यै जित्न सक्दैनन । यसैले म हार्न नै चाहन्न । र आजसम्म हारेको पनि छैन । यसैले परिणाम दुखद् हैन सुखद नै आउँछ । म त बिद्यार्थीहरुका लागि आफु जलेर भएपनि उज्यालो दिइरहने मैनवत्ती बन्न चाहन्छु । म अध्यारोलाई कहिल्यै सराप्दिन बरु अँध्यारोमा एउटा सलाईको काँटी भएपनि बालेर सहयोग गर्न चाहन्छु । यदी परिणाम सुखद् आएन भने पनि म सधैं बिद्यार्थीहरुकै हकहितमा दत्तचित्त भएर लागिरहन्छु । मेरा चार मान्यता छन् । (१) विचलित हुन्न (२) कसैलाई विर्सदिनन (३) अन्यायको विरोध (४) कामको जति बोझ भए पनि थाक्दिन ।

बिद्यार्थी संगठनहरु दलका झोले भए अनि नेताहरु चन्दा उठाउने विचलौलिया मात्र भएर शैक्षिक उन्नयनमा लाग्न सकेनन् भन्ने आरोप नि छ नि, तपाईंलाई कस्तो लाग्छ ?

मैले चार बर्ष भयो महेन्द्र मोरङमा संगठनमा आवद्ध भएर काम गर्न थालेको । सुरुमा मलाई बुझन सिक्न समय लाग्यो । पछि म संगठनका अग्रजको सहयोगले सक्रृय हुन थालें । हो, बिद्यार्थी संगठन र नेताहरुमाथि लागेको आरोप गलत पनि हैन होला । तर, सबैमा यो लागु हुँदैन । बिद्यार्थीहरुका लागि मरिमेटेर लाग्ने अग्रजहरु पनि हुनुहुन्छ हाम्रोमा । केही कमजोरी नभएका होइनन् । हामीले पहिले बिद्यार्थीको हकहित र शैक्षिक उन्नयनमा चासो दिनुपर्छ । हामी कसैकालागि आन्दोलन गरिदिने वा चन्दा उठाइदिने गुटका कार्यकर्ता मात्र बन्नुहुदैन ।

शुसासनका लागि पत्रकार बन्छु भनेर पढन थाल्नु भएको राजनीतिको रसमा फस्नु भएछ । भविष्यमा तपाईं पनि अब अरु जस्तै भ्रष्ट र बिबादित नेता बन्ने त होइन ?

सायद अझैसम्म राजनीतिले पुरानै लय समातिरहेकोले पनि होला अधिकांशको अन्तिम चाहना सत्तामा जाने नै हुन्छ । तर, मेरो सोच फरक छ । म नेता, सांसद र मन्त्री हुन हैन म बिद्यार्थी हकहितका लागि स्ववियुको सचिव पदको उम्मेदवार बनेकी हुँ । मैले समाजलाई नजिकबाट बुझ्न राजनीति सिक्न खोजेकी हुँ । राजनीति बुझनु भनेको नेता , सांसद र मन्त्री हुनुमात्र हैन । म समाजमा रहेक नागरिकले राजनीतिमा चासो दिनुपर्छ भन्ने मान्यता राख्छु । र, सबैले राजनीति बुझे पछि राजनीति आफैं सही ट्रयाकमा आउँछ भन्ने मेरो बुझाई छ ।

अर्को म जनप्रशासनमा मास्टर्सं गर्दैछु । अहिलेसम्म मेलै ‘व्याक’ लगाएर पढनु परेको छैन । आशा छ म मास्टर्स पनि नियमित उत्तिर्ण गर्नेछु । र अहिले मैले बिद्यार्थीमा सिकेको राजनीतिले भोलि म जनसेवक, समाजसेवक वा राष्ट्रसेवक जे भएपनि मलाई समाज बुझन सहयोग गर्नेछ । यसैले म पुरानो सोचलाई पछयाउन चाहन्न ।

अन्त्यमा, तपाईंका बिद्यार्थी मतदाताहरुलाई केही भन्न चाहनुहुन्छ ?
विश्वविद्यालयमा पढने हामी बिद्यार्थीहरुमा आलोचनात्मक चेत आइसकेको हुन्छ । यसैले हाम्रो हक हितका लागि को उम्मेदवार र सगठन ठिक र को बेठिक भन्ने हामीले विश्लेषण गरेर छुटाएर मात्रै मतदान गर्नुर्छ । हामी चेत भएका युवा शक्त्ति हौं, कसैको दास होइनौं । हामीले नै हो समाजमा परिवर्तन ल्याएको र अव अझै ल्याउने छौं । यसैले हाम्रा प्यारा साथीहरुलाई म यति मात्र भन्न चाहन्छु ‘विना मेघ गर्जन भारी बर्षा हुदैन । विना खनजोत र मलजल विना वाली सप्रदैन । र असल नेतृत्व नभई विद्यालय, विश्वविद्यालय र देश परिवर्तन हुँदैन । यो ईतिहासमा न कहिल्यै भयो न कहिल्यै हुन्छ ।’ यसैले प्रिय साथीहरु परिर्वनलाई रोज्नुहोस् ।

कमेन्ट गर्नुहोस्