विश्वकप खेल्न नेपाल टेस्ट राष्ट्रसँग भिड्नुपर्ने, यस्तो छ विश्वकप छनोटको बाटो

काठमाडौं । नेपाल विश्वकप क्रिकेटको छनोट खेल खेल्न पाउने भएको छ । आईसीसी लिग २ मा खराब सुरुवात गरेको नेपालले शानदार पुनरागमन गर्दै सिधै विश्वकप छनोटमा स्थान बनाएको हो ।

सुरुका २४ खेलमा ८ खेल मात्रै जितेको नेपालले अन्तिमका १२ मध्ये ११ खेलको नतिजा आफ्नो पक्षमा पार्दा सिधै विश्वकप छनोटमा पुग्न सफल भएको हो।

नेपाल १० टोली सहभागी हुने विश्वकप छनोट खेल्नेछ। यी मध्ये शीर्ष २ टोलीले मात्रै विश्वकपमा स्थान बनाउने छन्। विश्वकप खेल्नका लागि अब नेपालले टेस्टराष्ट्रसँग भिडेर शीर्ष २ मा स्थान बनाउनुपर्ने भएको हो ।

विश्वकप खेल्ने आयोजक भारत, इङ्ल्याण्ड, न्यु जिल्याण्ड, पाकिस्तान, अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तान गरी ७ टोलीको टुंगो लागिसकेको छ।

अब साउथ अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र आयरल्याण्ड मध्ये एक टोली पनि सिधै छनोट हुनेछ। यी मध्ये ३ टोली भने जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने विश्वकप छनोट खेल्नुपर्ने छ ।

 

सुपर लिग – ५ टिम

सुपर लिगका ८ टोलीले सिधै विश्वकपमा स्थान बनाउँदा ५ राष्ट्रले भने विश्वकप छनोट खेल्नु पर्नेछ। यहाँबाट जिम्बावे र नेदरल्याण्ड्सले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ।

अब साउथ अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र आयरल्याण्ड मध्ये शीर्ष स्थानमा रहने टोली पनि सिधै विश्वकपमा छनोट हुनेछ। तर बाँकी तीन टोली भने विश्वकप छनोट खेल्न जिम्बावे पुग्नेछन्।

लिग २ – ३ टिम

लिग २ बाट विश्वकप छनोट खेल्ने नेपालसहित ३ टोलीको टुंगो लागेको छ। स्कटल्याण्ड, ओमान र नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाएका छन्।

७ टोली सम्मिलित लिग २ बाट शीर्ष ३ स्थानमा पर्ने टोली सिधै विश्वकप छनोटमा पुगेका हुन्। तर लिग २ का बाँकी ४ टोलीको पनि विश्वकप छनोटमा पुग्ने सम्भावना बाँकी छ। यसका उनीहरुले प्लेअफ खेल्नु पर्नेछ।

प्लेअफ – २ टिम

लिग २ को शीर्ष ३ मा नअटाएका ४ टोली र च्यालेन्ज लिगका २ राष्ट्रले अब प्लेअफ खेल्नेछन्। प्लेअफबाट २ शीर्ष टोली विश्वकप छनोट खेल्न जिम्बावे पुग्नेछन्।

लिग २ का नामिविया, अमेरिका, युएई र पपुवा न्यु गिनीले प्लेअफ खेल्नु पर्नेछ। यस्तै च्यालेन्ज लिगको समूह ए को विजेता क्यानडा र समूह बी को विजेता जर्सी पनि प्लेअफ खेल्नेछ। यी ६ राष्ट्रबीचको भीडन्तबाट विश्वकप छनोटमा पुग्ने थप २ टोलीको पनि टुंगो लाग्नेछ।

विश्वकप छनोट

सुपर लिगबाट ३ र प्लेअफबाट २ टोलीको टुंगो लागेसँगै विश्वकप छनोट खेल्ने १० टोली निश्चित हुनेछ।

यी १० टोलीलाई ५र५ गरी दुई समूहमा विभाजन गरिनेछ। जिम्बावेमा हुने छनोट खेलमा ५ टोली मध्ये पनि दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन्।

त्यसपछि सुपर सिक्समा पर्ने टोलिबिच भिडन्त हुनेछ। सुपर सिक्सका २ टोलीले आईसीसी विश्वकपमा स्थान बनाउने छन्।

विश्वकप क्रिकेट आगामी अक्टोबर – नोभेम्बरमा भारतमा हुनेछ।

कमेन्ट गर्नुहोस्