पुनः नामकरणको माग राख्दै कोशी प्रदेशमा प्रदर्शन : अश्रुग्यास प्रहार, मुख्यमन्त्रीको पुतला दहन

विराटनगर । कोसी प्रदेश नाम खारेज गर्नुपर्ने मागसहित आज नेपालको पूर्वी प्रदेशको कोशीको विराटनगमा प्रदर्शन चर्केको छ । जसका कारण विराटनगर तनावग्रस्त बनेको छ । प्रदर्शनका क्रममा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र उल्लंघन गर्दै प्रदर्शन गरेका छन् । आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयअगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुतला दहन गरेका छन् ।

पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा महेन्द्रचोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयछेउ रोडशेषमा प्रदर्शनकारी पुगेपछि प्रहरीले बल प्रयोग गरेको थियो । निषेधाज्ञा उल्लंघन गरिएपछि अश्रुग्यास प्रहार गरिएको हो । प्रहरीले केही राउन्ड हवाईफायर समेत गरेको प्रदर्शनमा सहभागीको जिकिर छ ।

प्रदर्शनमा माओवादी नेता गोपाल किराती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायत नेताले सम्बोधन गर्ने तय थियो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अशोक चेम्जोङले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको बताए ।

कमेन्ट गर्नुहोस्